भरतपुर, ८ भदौ ।
नारायणी कला मन्दिर नारायणगढले सोमबार आयोजना गर्न लागेको रोपाइँ जात्राको रुट सार्वजनिक गरिएको छ । कला मन्दिरले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जात्राको रुट सार्वजनिक गरेको हो ।
सोमबार दिउँसो २ बजे नारायणी कला मन्दिर परिसरबाट सुरु हुने रोपाइँ जात्रा बालकुमारी स्कुलचोक, मिलनरोड, सहिदचोक, पुलचोक, मेनरोड, लीलाचोक, दियालोरोडहुँदै नारायणगढ बसपार्क पुग्नेछ । बसपार्कबाट घुमेर गणेशचोक, प्रगतिपथ, बालकुमारी स्कुलचोकहुँदै कला मन्दिरमै आएर जात्रा टुंग्याइने रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले जानकारी दिए ।
कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले विगतका वर्षहरुमा झैं यस वर्ष पनि संस्कृति संरक्षण र सम्वद्र्धनका लागि भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्राको आयोजना गरिएको बताए । रोपाइँ जात्रामा राधा, कृष्ण, बाउसे, हलीलगायत विभिन्न रुपमा बालबालिकादेखि वयस्कसम्मले सहभागिता जनाउने उनले जानकारी दिए । उत्कृष्ट सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको कला मन्दिरले जनाएको छ ।
यस पटकको रोपाइँ जात्रामा राधाकृष्णको झाँकीसहित शोभायात्रा र भजनकीर्तन हुनेछ । राधा र कृष्णको रुपमा सजिएका कलाकारलाई रथमा राखेर यात्रा गराइने कार्यक्रम रहेको छ ।
उद्योग वाणिज्य संघ चितवन प्रवर्धक रहेको रोपाइँ जात्राको मुख्य प्रायोजकमा मुक्तिलाल–माधुरी देवी चुके ट्रष्ट नारायणगढ रहेको छ । ट्रष्टका प्रमुख उत्तमलाल चुकेले रोपाइँ जात्रा आयोजनामा सधैं आर्थिक अभाव हुने गरेकाले यस पटक कला मन्दिरको आग्रहले नभई स्वतःस्फूर्तरुपमा ट्रष्टले जात्राको प्रायोजन गरेको स्पष्ट पारे ।