रत्ननगर, ८ भदौ ।
पूर्वी चितवनमा ४ वटा पुस्तक लोकार्पण गरिएको छ । धनराज गिरीका दुईवटा पुस्तक `पाखण्ड पुराण´ व्यङ्ग्यसङ्ग्रह र `निर्विषा´ छन्दकवितासङ्ग्रह, लक्ष्मण अर्यालको `दुर्बिन´ लघुकथासङ्ग्रह र गीता लामिछानेको `सुकुमेलको बास्ना´ कथासङ्ग्रह लोकार्पण गरिएको हो ।
वाल्मीकि साहित्य सदनको आयोजना र रत्ननगर उद्योग वाणिज्य सङ्घको सह-आयोजनामा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीसहित रामबाबु घिमिरे, रामहरि श्रेष्ठ, गोर्खे साइँलो, खेमराज पोखरेललगायतले कृति लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रमपछि गिरीका पाखण्ड पुराणमाथि डाक्टर धनेश्वर भट्टराई, निर्विषामाथि केशवराज आमोदी, अर्यालको दुर्बिनमाथि खेमराज पोखरेल र लामिछानेको सुकुमेलको बास्नामाथि यमुना न्यौपानेले समीक्षात्मक टिप्पणी राखेका थिए ।
वाल्मीकि साहित्य सदनका कोषाध्यक्ष कमल अर्यालले सहजीकरण गरेको कार्यक्रममा राजेन्द्र घायल, अशोक भुसाल, दुर्गा पौडेल, सर्वज्ञा पौडेललगायतले रचनावाचन गरेका थिए ।