भरतपुर, ७ भदौ ।
शुक्रबार बिहान तनहुँमा भएको बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ ।
प्रहरीका अनुसार मृतक २६ जनाको आबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ । एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
‘अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोस्टमार्टम भएपछि मात्रै आधिकारिक कुरा आउँछ,’ प्रहरी स्रोतले भन्यो ।
बस दुर्घटनामा घाइते भएका १६ जनाको चितवनको भरतपुर र काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भरतपुर लगिएका ५ जनामध्ये एक जनाको मृत्यु भएको र चार जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइते १२ जनालाई भने नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।
शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४३ यात्रु सवार रहेको बताइएको छ ।