मकवानपुर, ३ भदौ ।
साहित्य सङ्गम मकवानपुरले स्थापना दिवसकाे अवसरमा आइतबार हेटौंडामा संयुक्त कवितावाचन कार्यक्रम गरेकाे छ । लेखनका हिसाबले चार पुस्ताका चार कविले कविता सुनाएका थिए ।
सङ्गमले हरेक वर्ष मनाउँदै आएकाे स्थापना दिवस अन्तरगत ३५ औं सन्ध्या दिवसकाे अवसरमा आइतबार संयुक्त कवितावाचन कार्यक्रम गरिएकाे हाे । कविता वाचनमा एउटै मञ्चमा ४ पुस्ताका कविहरुले आफ्ना ३/३ वटा कविताहरु वाचन गरेका थिए ।
`म जस्तै मेरा कविता पनि साना छन्, मसँगै मेरा कविता पनि ठूला हुनेछन् ।´ कवि अनसूया खनालले कविता वाचन अघि आफ्ना भनाइ यसरी व्यक्त गरिन् । उनले आफ्ना तीनवटा कविता सुनाइन् । बिचरी चरी, मेरो गाउँ र आमा शीर्षकका कविता उनले सुनाइन् ।
नवपुस्ताकी अनसूयापछि प्रतिमा पाठकले आफ्ना तीन कविता प्रस्तुत गरेकी थिइन् । लामो समयपछि मन्चबाट कविता सुनाउँदै गर्दा उनले अग्रज पुस्ताबाट आफूले धेरै सिकेकाे तर आफूले सिकेका कुरा पुस्तान्तरण गर्न नसकेकाे बताइन् । प्रतिमाले कैदी सम्भावना, बुद्ध र बाँकी अर्कोपटक शीर्षकका कविता वाचन गरेकी थिइन् ।
यसैगरी कवि सुवास खनालले सानो छँदा बुबाको कविता चोरेर स्कुलमा सुनाउँदा पुरस्कृत भएकाे बताउँदै बुबाकाे कवितासँगै आमा पुस्ताले गाउने लाेक भाकाले लेख्न सिकाएकाे बताए । उनले कलेज एक यातना शिविर शीर्षकको कविताबाट वाचन सुरु गरे । यससँगै उनले वजनको वजन र राहत शीर्षकको कविता सुनाए ।
अग्रज पुस्तालाई प्रतिनिधित्व गर्दै कवि साम्ब ढकालले पनि अन्तराल, युक्रेनमा युद्ध :सम्वेदनामय सम्वेदना र फुटपाथबाट सङ्घम् शरणम् गच्छामी शीर्षकका कविताहरु सुनाए ।
यसैगरी साहित्य सङ्गम मकवानपुरले यस वर्षकाे सन्ध्या सम्मानबाट चेतप्रसाद पौडेललाई सम्मानित गरेको छ । सङ्गमकाे सन्ध्यामा नियमित उपस्थित भएका पौडेललाई सम्मान गरिएकाे सचिव मनाेज पोखरेलले जानकारी दिए । सैँपुले साइँलो उपनामले चिनिने पौडेलले त्रिसत्यमा आधारित महाकाव्य समेत लेखेका छन् ।
सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता र व्यङ्ग्यकार तथा बुढ्यौली संस्थाका अभियन्ता आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे सहजीकरण सचिव पोखरेलले गरेका थिए ।
१९ जनाले गरे रक्तदान
साहित्य सङ्गम मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ । सङ्गम स्थापना दिवसकाे अवसरमा आइतबार रक्तदान कार्यक्रम गरिएकाे हाे ।
३५ औं सन्ध्या दिवसकाे अवसरमा गरिएकाे रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका संगम सचिव मनोज पोखरेलले जानकारी दिए । रचना वाचन, विमर्श, विमोचनलगायतका साहित्यिक गतिविधिहरू गर्दै आएको सङ्गमले आफ्नो सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएकाे अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा साहित्यिक संस्थाले रक्तदानको आयोजना गरेको पहिलो हाे । कार्यक्रममा साहित्यकार, साहित्यप्रेमी, पत्रकारलगायतले रक्तदान गरेका छन् । ३५औँ सन्ध्या दिवसको अवसर आयोजित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।
कार्यक्रममा चिरञ्जीवी लामिछाने, पुष्पा काफ्ले ढुङ्गेल, हरि पौडेल, सञ्जीत श्रेष्ठ, सानु खनाल, सन्देश गौतम, संप्रस पौडेल, सुबास सजल, ध्रुव सिन्तान, सुजन ढकाल,अजर फुयाँल, कुबेर पराजुली, रोश्नी चौलागाईँ, कमल नेपाल, अन्जान खड्का, देवकी तिमल्सिनालगायतले रक्तदानसँगै रचना वाचन गरेका थिए ।