भरतपुर, ३ भदौ ।
कविडाँडा साहित्य समाज चितवनले २०८० सालमा प्रकाशित आख्यानहरूको श्रेष्ठ ५ सूची सार्वजनिक गरेको छ । कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार-२०८० का लागि गत साउन २१ गते १० वटा किताबको सूची सार्वजनिक गरेको समाजले उक्त सूचीलाई अद्यावधिक गर्दै उत्कृष्ट ५ को सूची सार्वजनिक गरेको हो ।
समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार उत्कृष्ट ५ मा सानु शर्माको कथासङ्ग्रह `अर्को देशमा´, कृष्ण गौतमको उपन्यास `अद्वैत´, गोविन्दप्रसाद कुसुमको उपन्यास `भृकुटी´, विश्व कुइँकेलको उपन्यास `गोपिचा´ र रोशन थापा निरवको उपन्यास `सन्त्रासका साठी दिन´ रहेका छन् ।
यसअघि सार्वजनिक उत्कृष्ट १० मा यी सहित विष्णु सापकोटाको उपन्यास `अडिएका पाइला´, रमेश सायनको उपन्यास `अन्तर´, जीवन जीवन्तको उपन्यास `चरैवेति´, भक्त स्याङ्तानको कथासङ्ग्रह `डम्फुको आत्मालाप´ र खेम बतासको कथासङ्ग्रह `बुढीपोल्ली´ सूचीकृत थिए ।
कविडाँडा साहित्य समाजले प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरू मध्येबाट एक कृतिलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार अर्पण गर्दै आइरहेको छ । पुरस्कृत आख्यानलाई आगामी कात्तिकमा चितवनमा कार्यक्रम आयोजना गरी सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताए । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ ।
२०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास, २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यास र २०७९ सालमा देवीप्रसाद सुवेदीको `मनु´ उपन्यासले प्राप्त गरेका थिए ।