भरतपुर, ३ भदौ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
जनैपूर्णिमामा भद्रा भएकाले रक्षा बन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरूले तर्क पेस गरेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आइतबार बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षा बन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरूलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।
‘कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ,’ उनले भने ।
ज्योतिष शास्त्रको ग्रन्थ बृहत्संहितामा भनिएको छ–
कुंम्भकर्कद्वये मत्र्येकब्जे स्वर्गेकजात्रयेकलिगे ।
स्त्रीधनुर्जूकनक्रेकधो भद्रा तत्रैव तत्फलम् ।।
यही प्रमाणका आधारमा पनि भद्राको दोष नलाग्ने ज्योतिषाचार्यहरूको निष्कर्ष छ । बैठकमा प्रा डा माधवप्रसाद पाण्डेय, सह प्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यहरूको उपस्थिति थियो ।
यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने भएकाले जनैपूर्णिमा र रक्षाबन्धनका कर्म गर्न कुनै समस्या नरहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ ।
क्वाँटी खाने दिन
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।