यतिबेला मेरो हातमा ‘यो मन कहाँ दुख्छ’ निबन्ध सङ्ग्रह छ । यसका स्रष्टा हुन् अनिल श्रेष्ठ । उनलाई समकालीन नेपाली कविता र निबन्धका क्षेत्रमा चिनाइरहनुपर्छ भन्ने मलाई लाग्दैन । आफ्नो कलमका माध्यमबाट चिनिएका हुन् उनी आफैँ । उनले आफ्ना कविता र निबन्धका माध्यमबाट नेपाली साहित्यमा फरक पहिचान बनाएका छन् । त्यसो त उनी समकालीन चेत बोकेका युवा लेखक हुन् । आफू स्वयम् माओवादी लडाकुका रुपमा जनयुद्धमा सामेल भएको हुँदा उनका निबन्धमा ती दिनको याद पनि देखिन्छ भने उनी हरेक कुरालाई माक्र्सवादी आँखाले हेर्ने गर्छन् । उनको दोस्रो निबन्धकृति ‘यो मन कहाँ दुख्छ’का अधिकांश निबन्धमा उनको साहित्कि कृतिको पठन अनुभव र तत् तत् कृतिका बारेमा समीक्षात्मक धारणा राखिएको पाइन्छ ।
भरतपुर–१०, कटहरचोक
२०८१ भदौ २ गते आइतबार ।
अनिलजी,
नमस्कार ।
म पत्रमित्रता गरेर विचार साँटेको पुस्ताको मान्छे । उतिबेला पत्र लेख्नु मेरो रहर । पत्र पाउनुको ज्ञानको स्रोत । पत्र पठाउनु सूचनाको माध्यम । त्यतिबेला खुब चिठी लेखियो । हुलाकी घरमा आउँदा खुसी नै बेग्लै । खाजा खाने पैसा बचाएर, दशैँमा टिका लगाएर पाएको पैसा पनि खाम, टिकट र हवाईपत्र किन्नमा खर्च गरियो । तपाईंले पनि पक्कै त्यसो गर्नुभयो होला हैन त ? यतिबेला ती दिन सम्झँदा पनि क्या मज्जा आउँछ । अनिलजी, तपाईलाई त्यस्तो हुन्छ कि हुन्न ?
अब यतिबेलाको कुरा गरौँ । हिजोको दिन मेरा लागि विशेष बन्यो । हिजोको कार्यक्रममा केही समय यहाँसँग भौतिक रुपमा साक्षात्कार गर्न पाइयो । तर मन पुरै रमाउन भने पाएन । यहाँसँग भेटेपछि मेरो मनमा छुट्टै खालको ‘भाइब्स’ आउँछ । त्यस्तो किन हुन्छ ? मैले अझसम्म थाहा पाएको छैन । तपार्इंलाई चाहिँ मलाई भेट्दा कस्तो हुन्छ कुन्नि ? बोरिङ खालको अनुभूति त हुँदैन नि ?
हिजो तपाईंको यो ‘मन कहाँ दुख्छ’ नामक निबन्धकृतिका बारेमा जमेर बहस गरियो भन्ने लाग्छ । बहसका क्रममा भन्नु नभन्नु केही भनियो कि ? प्रश्न केही अन्टसन्ट भयो कि ? यो हाड नभएको जिब्रो कतै लरबरायो कि ? त्यस्तो भएको भए माफ पाऊँ है ! हुन त साथी साथीका बिचमा माफीको के दरकार ? भन्नु होला । गल्ली भएपछि माफी त माग्नु पर्छ नि हैन र ?
एक घन्टाको कार्यक्रममा तपाईंको किताबका बारेमा राम्ररी चर्चा परिचर्चा हुन पाएन होला । फेरि त्यो कार्यक्रम कुनै मेडियाबाट लाइभ पनि त भएको थिएन । हलमा जे जति आए तिनैले मात्र सुन्न पाए । त्यही भएर यो पत्रात्मक समीक्षा लेखेको छु । कतै छापियो भने पाठकसम्म पनि पुग्ला कि ? नभए तपाईसम्म त पक्कै पुग्छ ।
मेरो विचारमा तपाईंका उन्नाइसवटै निबन्ध पठनीय छन् । म पुरै कृति पढुञ्जेल ललित निबन्धको गन्ती गर्दै थिएँ । यतिबेला नेपाली निबन्ध पनि विधामिश्रण र विधाभञ्जनको उत्तरआधुनिक यात्रामा निस्केको रहेछ भन्ने बोध यी निबन्ध पढेपछि थाहा भयो । यहाँले ती निबन्धमा नियात्रा, जीवनी, कृतिसमीक्षा, संस्मरण, स्थानपरिचय, संस्थापरिचयजस्ता विविध कुराहरू समेट्नुभएको पाएँ । मलाई त मज्जै आयो, तर निबन्ध भनेर किनेपछि त्यो पढ्ने पाठकलाई चाहिँ कस्तो होला ? यहाँले पाठकको अभिमत सङ्कलन गर्नुभएको छ कि छैन ? कतै पाठक निराश त हुँदैन ? यो बारेमा चाहिँ सोच्नुहोला है, साथी भएर भनेको ।
अब मैले यहाँको कृतिमा भेटेका केही कुरा गर्दै छु । यहाँका उन्नाइसवटा निबन्धमध्ये दुईवटा मात्र ललित निबन्ध भन्न मिल्ने खालका रहेछन् । सुरुको निबन्ध ‘यो मन कहाँ दुख्छ ?’ले मेरो मन निकै छायो । यहाँ मनका बारेमा कतिसम्म घोत्लिन सक्नुहुन्छ भन्या ? अनि अर्को निबन्ध ‘योग ः एक उन्मुक्त जीवनशैली’ पनि ललित निबन्ध हो । यसमा यहाँले योगलाई अध्यात्मसँग तुलना गर्नुभएको रहेछ । तपाई त भौतिकवादी मान्छे, त्यसमा पनि माक्र्सवादी विचार बोकेको कट्टर योद्धा । अनि माक्र्सवाद र अध्यात्मको फ्युजन कहाँनेर हुन्छ ? म त अझै कन्फ्युज्ड छु ।
यहाँका पाँचवटा निबन्ध यात्रासँग सम्बन्धित रहेछन् । दुईवटा स्थानलाई चिनाउने खालका रहेछन् । दशवटा निसमालोचना रहेछन् भन्ने मेरो निष्कर्ष रहेको छ । ‘झिमरुकमा बयलिन हिँडेको मन’ रुकुमको यात्रासँग सम्बन्धित छ भने ‘सिराइचुलीलाई सिरानी हालेर’ चाहिँ चितवनको अग्लो चुली सिराइचुलीको यात्रासँग सम्बन्धित रहेछ । यी निबन्ध देश दर्शनसँग सम्बन्धित पाएँ । यहाँका ‘लहैलहै जिन्दगी’, ‘बरेली बजार र तेजी सुरीको हराएको झुम्का’ भारतको ग्वालियर भ्रमणसँग सम्बन्धित निबन्ध हो । यी पाँचवटा निबन्ध नियात्राको नजिक रहेछन् ।
यहाँको ‘चितवनको तोरीको प्युरिटी र साहित्यको ओरिजिन’ नामक निबन्ध चितवनको भूगोल, संस्कृति र साहित्य चिनाउने खालको छ भने ‘साहित्यमा समाजको सौन्दर्य निर्माण’ निबन्धमा आँबुखैरेनीलाई चिनाउनुका साथै त्यहाँको साहित्यिक इतिहास खोतल्ने काम भएको छ । यिनमा पनि निबन्धभन्दा बढी कतै न कतै समालोचकीय चेत पाएको छु । आफू समालोचनामा केही काम गर्ने भएर पनि यसो भएको हो कि ?
मैले ‘निर्मलाको सान्निध्य’ निबन्धमा प्रसिद्ध भारतीय लेखक प्रेमचन्दको जीवनी पाएँ भने ‘अँध्यारोको जुनकिरी’ निबन्धमा चर्चित ग्रीक दार्शनिक सुकरातको जीवनी भेटेँ । त्यस्तै ‘प्रमोदित प्रमोद’ निबन्ध साहित्यकार प्रमोद प्रधानसँग सम्बन्धित रहेछ भने ‘घनश्याम ढकाल जो सधैँ निष्ठाले बाँचिरहे’ निबन्ध प्रगतिवादी स्रष्टा घनश्याम ढकालसँग सम्बन्धित पाएँ ।
यीबाहेक ‘त्यो रमाइलो डाँडा’ निबन्ध प्रसिद्ध उद्योगपति लक्ष्मणबाबु श्रेष्ठको जीवनीसँग सम्बन्धित रहेछ । यी पाँचवटै निबन्धमा जीवनीपरक समालोचना र निबन्धको ढाँचा पाइएकाले यी सबै निसमालोचना हुन् भन्ने ठहर हो मेरो ।
अनिलजी, तपाईं मिष्टभाषी त हुँदै हो, नवोदित लेखकको पहिलो कृतिकै बारेमा पनि खुलेरै प्रशंशा गर्नुहुँदो रहेछ । त्यो कुरा ‘सुमिनासँग संवाद’ शीर्षकको निबन्ध पढेपछि थाहा भयो । कवि सुमिनाको पहिलो कृति ‘बागी स्त्रीको आत्मकथा’ पढेपछि तपाई प्रभावित हुनुभएछ, यहाँसम्म त ठिकै थियो ।
तपाईले उनलाई पारिजातसँग यसरी तुलना गरेको चाहिँ अलिक बढी भयो कि भन्ने ठहर हो मेरो । हेरौँ त्यो निबन्धांश :
‘बागी स्त्रीको आत्मकथा’ पढिरहँदा मलाई घरीघरी यस्तो लाग्छ सुमिना नै कतै पारिजातको त्यो ‘बोनी’ हुन् कि ! जो यो समयले हुर्काएको आन्दोलनको एउटा जीवन्त पात्र हुन् । मैले सुमिना र सुमिनाका कविताहरूमा पारिजातका प्रतिच्छायाहरू देखेको छु । ‘बैँसालु वतर्मान’ र ‘बागी स्त्रीको आत्मकथा’ लाई साथमा राखेर अहिले म यी दुई अलग समयलाई प्रतिनिधित्व गरिरहेका यी दुई कविहरूको वैचारिकी, विद्रोह र सङ्घर्षशील स्वभावहरूलाई पढिरहेको छु, एउटा समानता खोजिरहेको छु । म सुमिनाका यी कविताहरूले पारिजातलाई पछ्याइरहेका उनका पाइतालाका पदचापहरूलाई चियाइरहेको छु । (पृ. ४०)
अनिलजी, तपाई प्रशंशा मात्र होइन, खुलेर कमजोरीमाथि प्रहार पनि गर्नुहुँदोरहेछ भन्ने कुरा यहाँको ‘यारी, मेरा याराना’ निबन्ध पढेपछि थाहा भयो । आफूसँग निकै नजिक भएका पाका स्रष्टा मोदनाथ मरहट्टाको पहिलो निबन्ध र तेस्रो कृति ‘लेख्ने विषयको खोजीमा’माथि तपाईले गरेको यो टिप्पणी मलाई निकै मन पर्यो :
सङ्ग्रहभित्र रहेका सबै निबन्धहरू सामान्य पाठकहरूका लागि पनि उत्तिकै रुचिकर लाग्न सक्छ । निबन्ध पढ्दै जाँदा पाठकको मनमा उत्सुकता पैदा गर्न लेखक सफल छन् । त्यही उत्सुकताले पाठकले एक बसाइमा निबन्धहरू पढी सक्छन् । यसलाई लेखकको सबलता मान्न सकिन्छ । तर कुनै–कुनै निबन्धमा लेखकले हतारिएर वा बहकिएरै निबन्धको सत्वलाई बिर्सिदिएका छन् । त्यसैले निबन्ध निबन्ध जस्तो बन्न सकेको देखिँदैन । केही निबन्धहरू केवल लेखकका सर्सर्ती टिपिएका फुट्स नोटजस्ता लाग्छन् । यसले निबन्धको निबन्धकारितालाई मारिदिन्छ । यसमा लेखक सचेत हुनु जरुरी छ । (पृ. ६९)
मैले यहाँका अरु बाँकी निबन्धहरू ‘आँसुको सौन्दर्यशास्त्र’ निबन्धमा कवि बिन्दु शर्माको पहिलो कविताकृृति ‘ओक्कल दोक्कल पिपलपात’ निबन्धका बारेमा समीक्षकीय अभिमत राखिएको पाएँ भने ‘कविताको मैदानमा एक सानदार ब्याटिङ’ निबन्धमा कवि राधिका कल्पितको पहिलो कविताकृति बरफका कोइलाहरू कविताकृतिका बारेमा समीक्षात्मक धारणा पाइन्छ । त्यस्तै ‘बिम्बको प्रभाव’ निबन्धमा तपाई आफूदेखि लिएर समकालीन विभिन्न कविका कविताका बिम्बका बारेमा धारणा राखेको पाएँ । यी सबै निबन्ध पढिसकेपछि यहाँको ध्यान मूलतः कविताका कृतिमा परेको पाएँ । त्यति मात्र होइन, जुन विधाको भए पनि सर्जकको पहिलो कृतिमा यहाँको ध्यान किन जान्छ हँ ?
अब पत्र टुङ्ग्याउनु पर्ला । त्योभन्दा अघि मेरा केही धारणा पनि राख्छु ल । म समालोचनाका क्षेत्रमा विगत दुई दशकदेखि लागेको भए पनि केही समयदेखि निसमालोचनासँग मेरो लगाव अलिक बढेको छ । यहाँका निबन्धका कुरा गर्नुपर्दा मैले यहाँको पहिलो निबन्धकृति ‘टाइगर हिलकी पुनम‘ पनि पढेको छु र यो दोस्रो ‘यो मन कहाँ दुख्छ’ पनि अक्षरशः पढेँ । पछिल्लो कृतिमा समाविष्ट उन्नाइसवटा निबन्ध पढ्दा दशवटा त निसमालोचना नै भेटेँ भने बाँकी निबन्धमा पनि कतै न कतै निसमालोचनाको छनक पाएँ मैले । अब यहाँको तेस्रो निबन्धकृति आउँदा निसमालोचना नै आओस् भन्ने चाहन्छु म । यहाँसँग सहकार्य गर्न पनि म तयार छु । म चाहन्छु, तपाईको यो कृतिले अपार सफलता पाओस् र छिट्टै तेस्रो निबन्धकृति पनि बजारमा आओस् । बाँकी गन्थन तेस्रो कृति पढेपछि गरौँला । शुभायः ।
उही तपाईको अनन्य मित्र
रमेश प्रभात