मकवानपुर, १ भदौ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग बन्द र जीर्ण हुने अवस्थामा पुगेको बताएका छन् । हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा मन्त्री भण्डारीले उक्त कुरा बताएका हुन् ।
‘सरकारी स्वामित्वको उद्योग बन्द हुनुको कारण सरकारका साथसाथै सञ्चालक समिति, संलग्न सबै सरोकारवाला हुन्’ मन्त्री भण्डारीले भने ‘उद्योग संकटग्रस्त बनेको जिम्मेवारी सबैले लिनुपर्छ ।’
‘राजनीतिका कारण उद्योगहरूमा समस्या देखिएको हो’ उनले भने ‘निजी क्षेत्रका उद्योगहरूको लगानी, प्रविधि, उत्पादन र बजारसँग सरकारी उद्योगहरूले प्रतिस्पर्धा गर्न नसक्दा सरकारी उद्योगहरू धराशायी बन्न पुगेको हो ।’ सरकार, सञ्चालक समिति र ट्रेड युनियन उद्योग बन्दको कारण भएको उनले बताए ।
सरकारले उद्योग सञ्चालन गर्न नहुने मन्त्री भण्डारीले बताए । ‘उद्योग सञ्चालनको जिम्मा उद्योगी व्यवसायीलाई नै दिनुपर्छ’ उनले भने । सरकारले उपयुक्त लगानी तथा उद्योग सञ्चालनको वातावरण निर्माण गरिदिनुपर्ने उनले बताए ।
सरकारले ९ वटा जीर्ण र संकटग्रस्त उद्योग सञ्चालनको मोडल तयारी अघि बढाएको मन्त्री भण्डारीले बताए । अघिल्लो सरकारले हेटौंडा र उदयपुर सिमेन्ट उद्योग सहित जीर्ण ९ उद्योगलाई निजीकरण इकाईमा पठाएको मन्त्र भण्डारीले बताए ।
उक्त इकाईमा विचाराधीन विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँगको छलफल पछि आवश्यक निर्णय गरिने उनले जानकारी दिए । ‘घाटामा सिमेन्ट उद्योग सञ्चालन गरेर हुँदैन ।
उद्योग फाइदामा लैजाने गरी लगानी गर्नुपर्छ’ उनले भने, ‘स्पष्ट मोडल तयार गरेर संकटमा रहेका उद्योगहरू सञ्चालनको बारेमा छलफल भइरहेको छ । उद्योग टिकाउने विषयमा सरकार प्रयत्नरत रहेको छ ।’ कानुन संशोधन गरेर उद्योगमैत्री वातावरण तयार गर्ने लयमा सरकारले काम गरिरहेको उनले बताए ।