भरतपुर, १ भदौ ।
तनहुँको आँबुखैरेनीका लेखक अनिल श्रेष्ठको निबन्धसङ्ग्रह `यो मन कहाँ दुख्छ´ को विमर्श कार्यक्रम शनिबार भरतपुरमा गरिएको छ । साहित्य सङ्गम चितवनले आयोजना गरेको विमर्श कार्यक्रममा कवि एवम् निबन्धकार भूपिन, कवि मोदनाथ मरहट्टा र निबन्धकार श्रेष्ठसँग रमेश प्रभातले संवाद गरेका थिए ।
कार्यक्रममा बोल्दै भूपिनले निबन्ध नेपाली साहित्यिक बिधाको लोकतान्त्रिक बिधा भएको बताए । `अनिलजीका निबन्धमा निवार्ता छन्, नियात्रा छन्, व्यक्तिचित्र र संस्मरण पनि छन्´, भूपिनले भने – `यी सबै चिज अट्न सक्नु निबन्धको विशेषता हो । यी सबै अट्नसक्ने क्षमता निबन्धमा मात्रै छ । निबन्ध लोकतान्त्रिक बिधा हो ।´
भूपिनले `यो मन कहाँ दुख्छ´ मा आत्मपरक बढी र बस्तुगत निबन्ध कम भएको पनि बताए । सङ्ग्रहभित्रको `योग : एक उन्मुक्त जीवनशैली´ले पुँजीवादले मान्छेका विचारहरुलाई लेपन लगाएर बिकाउ बनाइदिएको प्रसङ्ग उल्लेख गरेको भन्दै लेखकमाथि वैचारिक प्रहार हुनसक्ने संभावना भएको बताए । निबन्धकार श्रेष्ठले योग मार्क्सवादले स्विकार्न नसकेको धर्म अफिम रहेको र यसलाई चुनौतीका रूपमा आफूले लेखेको पनि बताए ।
`मन दुईवटा कुरासँग जोडिएर आउँछ । एउटा शरीरविज्ञानसँग, अर्को योगविज्ञानसँग । मन जब शरीरविज्ञानसँग जोडिएर आउँछ त्यहाँ रोगका कुराहरू आउँछन् । मन जब योगविज्ञानसँग जोडिएर आउँछ, त्यहाँ मोक्षको कुरा आउँछ, मुक्तिको कुरा आउँछ । `यो मन कहाँ दुख्छ´ ले यिनै कुराहरूलाई खोज्ने प्रयत्न गरेको निबन्धकार श्रेष्ठले बताए ।
कार्यक्रममा नारायण शर्मा विपिन, पोषराज पौडेल, सुरेन्द्र अस्तफललगायतले निबन्धसङ्ग्रहका सन्दर्भमा रहेर लेखक श्रेष्ठलाई प्रश्न गरेका थिए । यो पुस्तक भुँडीपुराण पब्लिकेसन्सबाट प्रकाशन भएको हो । मूल्य ४५०/- छ ।