चितवन, १ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका चितवनका चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डाक्टर अजय न्यौपाने र डाक्टर सरु थापाले ‘डा अजय एण्ड डा सरु फाउन्डेसन’ स्थापना गरेका हुन् ।
फाउन्डेसन स्थापनाको जानकारी दिँदै डाक्टर न्यौपानेले स्वास्थ्य, शिक्षा, विपत्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए । हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए ।
वार्षिक १० लाख रुपैयाँ कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याएको उनले बताए । आउँदो वर्षबाट कोषको व्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दस वर्षमा अक्षयकोष रु एक करोड पुर्याउने लक्ष्य छ । व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।
फाउन्डेसनले २० जना विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ । स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरुको योजना छ ।
विपन्न २० परिवारलाई स्वास्थ्य बिमा गरिदिने योजना छ । सुरुका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ । फाउन्डेसनमा आफ्नो कमाइ मात्रै प्रयोग गर्ने भन्दै उनीहरुले अन्य दाताको सहयोग नलिने बताए । यद्यपि सामाजिक संघसंस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ ।