मकवानपुर, ३२ साउन ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका बागमती प्रदेशका खेलाडीहरूले २ वर्षसम्म पुरस्कार प्राप्त गर्न सकेका छैनन् । उक्त प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित १४५ पदक जितेको थियो ।
बागमती प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । प्रतियाेगिता सम्पन्न भएकाे २ वर्षसम्म पनि प्रदेश सरकारले पदक विजेता खेलाडीलाई दिने निर्णय गरेकाे पुरस्कार नदिएपछि प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनकाे ध्यानाकर्षण गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि पुरस्कार वितरणका लागि मन्त्री महर्जनको ध्यानाकर्षण गराएको छ। बिहीबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलाडी संघका केन्द्रीय सदस्य अजित गुरुङको समूहले मन्त्री महर्जनलाई ध्यानाकर्षण गराएको हो ।
गत २०७९ असोज महिना २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा भएको गुरुङले बताए । खेलकुद प्रतियोगिता सम्पन्न भएको २ वर्षसम्म पनि पुरस्कार प्राप्त हुन नसकेकाले सो विषयमा तत्काल पहल गर्न मन्त्री महर्जनलाई ध्यानाकर्षण गराइएको उनको भनाई छ ।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश सरकारले निर्णय गरेकाे पुरस्कार दिने गरी तयारी पारिएको जानकारी दिए । ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै खेलाडीहरूलाई पुरस्कार दिनेछौं ।’ अर्थ मन्त्रालयबाट खेलाडीकाे लागि दिने भनिएकाे पुरस्कारकाे लागि सहमति नआउँदा वितरण हुन सकेको थिएन ।
प्रतियोगिता सम्पन्न भएको लामो अवधिसम्म प्रदेश सरकारबाट पूर्वघोषित पुरस्कार प्राप्त नहुँदा खेलाडीहरूको गुनासो बढिरहेको र पदक प्राप्त खेलाडीमा निराशा छाएको उनले बताए । उनका अनुसार निकट भविष्यमा नै हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पूर्वघोषित नगद पुरस्कार खेलाडीहरूलाई उपलब्ध गराउन माग गरिएको छ ।