गैंडाकोट, ३० साउन ।
आफूभन्दा माथि सेवा भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रोटरी क्लब अफ गैडाकोटबाट साउन २९ गतेका दिन गैडाकोट नगरपालिका वडा नं १ मा अवस्थित नवदुर्गा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरिएको छ ।
रोटरी क्लब इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम रोटरी क्लब अफ गैंडाकोटका
अध्यक्ष अधिवक्ता रमेश काफ्लेको अध्यक्षतामा तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ठाकुर सापकोटा तथा रोटरीका पदाधिकारीहरु र विद्यालयका शिक्षक अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
आर्थिक रुपमा विपन्न दलित तथा जनजाती समुदायका अधिक विद्यार्थी रहेको उक्त विद्यालयका ७५ जना विद्यार्थीहरुलाइ उक्त अवसरमा शैक्षिक सामग्रीहरु हस्तान्त्रण गरिएको थियो भने शैक्षिक सामग्री हस्तान्त्रणमा एसिष्टेन्ट गभर्नर अशोककुमार बस्नेतको मुख्य योगदान रहेको थियो । रोटरी क्लब अफ गैंडाकोटको शैक्षिक उन्नयन कार्यक्रम अन्तर्गत सो अवसरमा गैडाकोट इंग्लिस स्कुलका प्रिन्सिपल हिरालाल अर्याल, श्रीहरि चालिसे श्रीयम सप्लायर्सका सञ्चालक श्रीनिवास पौडेल तथा क्लब अध्यक्ष रमेश काफ्लेबाट एकएक जनाका दरमा चार जना विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण गरी एक शैक्षिक सत्रका लागि आवश्यक शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले स्वागत भाषण गर्नुको साथै ब्यवस्थापन समिति अध्यक्ष ठाकुर सापकोटाले विद्यालयको अवस्थाको बारेमा जानकारी गरेका थिए ।
सोही अवसरमा विद्यालय परिसरमा रोटरियनहरुबाट विभिन्न फलफूलहरुको १०० बिरुवा रोपी बृक्षारोपण कार्यक्रम समेत सम्पन्न भएको छ । रोटरी क्लब अफ गैंडाकोटले २०१७ मा स्थापना भइ हालसम्मका कार्यक्रमहरुको समीक्षा तथा आगामी कार्यक्रमहरुको योजना निर्माणका लागि भुजेल गाउँ जगन्नाथ गाउँ लगायतका स्थानमा गई समुदायसंग भेटघाट छलफल अन्तरक्रिया र खानेपानी शौचालय निर्माण जस्ता सम्पन्न परियोजनाहरुको स्थलगत अनुगमन समेत गरिएको थियो ।