देवघाटधाम, २९ साउन ।
पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न गएका भक्तजनहरुलाई आदर्श नारी विकास केन्द्र चितवनले नि:शुल्क पानी, जुस तथा फलफूल वितरण गरेको छ । साउनको अन्तिम सोमबारको अवसर पारेर देवघाटधाम पुगेका तीर्थालु भक्तजनहरुलाई लक्षित गरी कार्यक्रम गरिएको संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले बताइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जनले मानवीय सेवाको यस पवित्र पुण्यको काममा आदर्शको अभियानको उच्च प्रसंसा गरे । संस्थाका संस्थापक मीना खरेलले संस्कार, संस्कृतिको संरक्षणसँगै मानवीय पुण्यको काममा संस्था सदैव अग्रसर रहिरहने बताइन् ।
यस्ता कार्यले बच्चाहरुमा पाहुनालाई गर्ने सत्कार, सत्कर्म र सहयोगी भावनाको विकास हुने उनको भनाई थियो । संस्थाका सचिव सरिता सुवेदी पाठकले सञ्चालन गरेको कार्यक्रमको संयोजक कार्यसमिति सदस्य अनिता बास्तोला थिइन् ।
यसैबीच सामुदायिक सेवा केन्द्र नारायणगढले पनि भक्तजनहरुलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । भीडभाडको बेला हुनसक्ने चोरी, लुटपाट र अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मीना खरेलले बताइन् । कार्यक्रममा वडाध्यक्ष महर्जन, प्रहरी निरीक्षक काजीराज थापासहितको प्रहरी समूह र संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।