देवचुली, २८ साउन ।
देवचुली नगरपालिका वडा नम्बर २ ले चौधरी ग्रुपलाई व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा खर्च गरेको विवरण पेश गर्न पत्राचार गरेको छ । वडा अध्यक्ष शरदप्रसाद घिमिरेद्वारा हस्ताक्षरित पत्रमा १५ दिनभित्रमा सीएसआर अन्तर्गत भएका कार्यहरु र यस वर्ष गरिने कार्यहरुको जानकारी गराउन समेत भनिएको हो ।
औद्योगिक व्यवसाय नियमावली २०७८ को नियम (४३) को उपनियम (३) (१) बमोजिमको क्षेत्रमा खर्च गर्न छुट्याइएको वार्षिक रकमको कम्तीमा ५० प्रतिशत रकम सम्बन्धित उद्योगबाट प्रभावित क्षेत्रमा खर्च गरी सोको जानकारी उद्योग दर्ता गर्ने निकायमा गराउनु पर्ने व्यवस्था छ । वडाले उक्त रकम देवचुली २ मा कहाँ कसरी खर्च गरिएको हो ? सो को जानकारी गराउन पत्रमा उल्लेख गरेको छ ।
देवचुली २ मा रहेको चौधरी ग्रुप अफ इण्डष्ट्रीयल पार्कभित्र सिजी फुड्स नेपाल प्रालि, सिजी प्याकेजिङ नेपाल, सिजी परफेन्ट ब्लेन्ड्स प्रालि, सिजी इलेक्ट्रोनिकलगायत कम्पनी संचालन रहेको र सीएसआरको काममा पारदर्शी तवरले जानकारी गराउन समेत पत्रमा भनिएको छ ।
चौधरी उद्योगको भुसे ब्वाइलरको खरानी आँखामा परेर समस्या भएको, खरानीले खेतीपाती बिग्रिएको, किसानको घरको छानो र झ्यालबाट खरानी छिरेर घर फोहोरमैला भएको, ब्रुअरीबाट निस्कने रसायन मिश्रित दूषित पानीले खेतीपाती बिग्रिएको, धुलोमैलो र दुर्गन्ध फैलिएको, जायजेथामा आएको ह्रास खेपेका स्थानीयलाई राहत पुग्ने गरी सीएसआरमा आजसम्म वडामा भएका खर्च वडा कार्यालयलाई जानकारी नगराएको पत्रमा उल्लेख छ । उद्योगले कानुनले व्यवस्था गरेको र पीडितको नैसर्गिक हकको रुपमा व्यवस्था भएको औद्योगिक व्यवसाय ऐन २०७६ साथै औद्योगिक व्यावसाय नियमावली २०७८ ले किटान गरेको सीएसआर को काम देवचुली २ सँग समन्वय गरेर गर्न पत्रमा उल्लेख गरिएको छ ।