मकवानपुर, २८ साउन ।
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६, गौरीटार रंगशालाको निर्माणाधीन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री महर्जनले सोमबार रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायत पूर्वाधारहरुको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै निर्माण कार्यलाई समयभित्रै सम्पन्न गर्नु पर्ने बताए । उनले निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गर्दै सम्बन्धित सबैलाई निर्देशन समेत दिए ।
गौरीटार परिसरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी पौडी पोखरी निर्माण भइरहेको छ । प्रदेश सरकारको ९ करोडको लागतमा २ वटा पौडी पोखरी निर्माणको काम भइरहेको छ । एउटा पोखरी अभ्यास र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश खेलकुद परिषदका अनुसार गौरीटार रंगशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बनाउन लागिएको हो । साढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रंगशालाभित्र ९ वटा कभर्ड हल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेललगायत २१ वटा संरचना बन्नेछ । फुटबल रंगशाला निर्माणको काम भने लगभग अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।