पीताम्बर सापकोटा
गैँडाकोट-९, थुम्सी, नवलपुर
मानवीय जीवन इच्छापुञ्ज हो । आफ्ना इच्छाहरूको परिपूर्ति गर्न सकेसम्म मानिस पछाडि हट्दैन र इच्छाले जीवनपर्यन्त पिछा छोड्दैन पनि । यही नै मानवीय स्वभाव पनि हो ।नेपाल र भारतका विभिन्न धार्मिक र पर्टकीय क्षेत्रहरूको परिभ्रमणको अनुभव गरिसकेको भए पनि आराध्यदेव शिवको निवासस्थल कैलाश र सगरमाथाको देशको नागरिक भएकाले सगरमाथालाई प्रत्यक्ष दृष्टिगोचर गर्ने मेरो आन्तरिक इच्छा पहिलेदेखिकै थियो तर उपयुक्त समय नआइसकेकोले पनि ती इच्छाहरू मनभित्रभित्रै गुम्फित थिए ।
एक दिन अचानक नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर आश्रम देवघाटधामका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूले टेलिफोन गर्नुभयो । विरलै फोन गर्ने महात्माको एकाएक फोन आएपछि मेरा औँलाहरू अनायास नै फोन उठाउन सलबलाउन थाले भने मनको एउटा कुनामा के कति कारणले फोन गर्नुभएको होला भनेर घोत्लिन थाल्यो ।फोन उठाएर सामान्य कुशलमङ्गलादिका कुरा पूरा भएपछि गुरूज्यूले श्रावण महिनाको पावन अवसर पारेर कैलाश मानसरोवरको तीर्थाटनको योजना बनेको छ । परमानन्दीय गुरू-शिष्य परम्पराबाट दीक्षित र अनुप्राणित व्यक्तिहरू र देवघाट, चितवन, नवलपुर र काठमाडौका भक्तसज्जनसहितको एउटा विशाल टोली गुरूपूर्णिमापछि तीर्थयात्रामा निस्कँदैछ । ११दिनको तीर्थाटनमा तिमी पनि इच्छुक छौ भने भोलिसम्म निधो दिनु भनेर फोन राख्नुभयो ।
त्यसपछि एकातिर आफ्नो पहिलेदेखिकै उत्कट इच्छा पूरा गर्ने अवसर र अर्कोतिर दुई लाख जतिको व्ययभार र शैक्षणिक कार्यको व्यवस्थापन कसरी गर्ने होला भन्ने अन्तर्द्वन्द्वका बीच मैले अर्धाङ्गिनी श्रद्धासँग पारिवारिक सल्लाह गरेँ । उनले गुरूजीहरूसँग तीर्थयात्रा गर्ने यस्तो स्वर्णिम अवसर जोकसैलाई मिल्दैन पनि । अतएव कार्यक्षेत्रमा बिदाको व्यवस्थापन मिलाएर भए पनि सकभर तीर्थाटन गर्नु ठिक हुन्छ भनेर स्वीकृति दिइन् । त्यसपछि सम्बद्ध जिल्लाबाटै पासपोर्ट बनाउन सकिने व्यवस्था नेपाल सरकारले गरेको छ तापनि झट्टै पासपोर्ट बनाउनका लागि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट रू १२,३००/- रूपैयाँ तिरेर मैले पासपोर्ट बनाएँ ।
मध्य असारमा पासपोर्ट र नगद रू ५०,०००/- बुझाएपछि भने कैलास मानसरोवरको यात्राले द्रुततर गति पक्रियो । फोटा खिचाइयो र जाडोका लागि न्याना लुगाहरू किनमेल गरेर २०८१ श्रावण ९ गतेका दिन कालिका संस्कृत क्याम्पसका प्रमुख रामचन्द गुरू, श्याम खनाल सर म भएर ९ गते आआफ्ना अनुकूलित ठाउँहरू नारायणगढको पुलचोक र आँपटारीबाट १२ बजेतिर बसमा चढेर साँझ हरिहर मन्दिर धापासी पुग्यौँ ।
साउन १० गते बिहानको भोजनपश्चात् ११ बजेबाट मन्दिरको प्रवचन कक्षमा हामीहरूलाई तीर्थयात्रामा लैजाने कम्पनी द ट्रेकर्स सोसाइटीका तर्फबाट आवश्यक मार्गनिर्देशन गर्ने र झोला तथा ज्याकेट वितरण गर्ने कार्यक्रम भयो । सर्वप्रथम पूज्यपाद ज्ञानानन्द स्वामीज्यूले तीर्थयात्रा अत्यन्त उत्साह र अनुशासनका साथ गर्नुपर्ने कुरा बताउनुभएको थियो भने कम्पनीका प्रवन्धक श्री जितेन्द्र बस्नेतले यात्राीहरूलाई कम्पनीका तर्फबाट उपलब्ध हुने सेवा सुविधाका साथै ११ दिनसम्म चल्ने यात्राको सम्पूर्ण विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसपछि हामीले कम्पनीलाई बुझाउनुपर्ने जम्मा रकम एक लाख पचास हजार भुक्तान गर्यौँ र सहकर्मी मित्र श्याम खनालजी र म छुटपुट सामग्री खरिदका लागि न्युरोड र ठमेल गई किनमेल गरेर आश्रम फर्कियौँ ।
साउन ११ गतेको दिन तीर्थायात्रा आरम्भ गर्ने दिन भएकाले ब्रह्ममुहूर्तमा उठेर नित्यकर्म सम्पन्न गरी हरिहर भगवान्को दर्शन गर्यौँ । आज काठमाडौँबाट १७० किलोमिटर उत्तरमा अवस्थित तिब्बत/चीनको केरूङसँग सीमा जोडिएको रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे ,घट्टेखोला रसुवागढीसम्मको गन्तव्य थियो । बाटोमा निरामिष खानपानको व्यवस्था हुनसक्ने अवस्था नभएकोले आश्रममै हल्का भोजन गरी मन्दिर प्राङ्गणमा एकत्रित भयौँ । गुरूमहाराजहरूका साथै पथप्रदर्शक विक्रम कार्कीजीलगायत समस्त तीर्थयात्रीहरूले सामूहिक तस्बीर खिची जय शिव शङ्कर, हरहर महादेवको जयजयकार ध्वनि लगाउँदै ३ वटा बसमा सवार भई यात्राले गति लिन थाल्यो । यात्रीका झोला र ११ दिनका लागि आवश्यक भोज्यपदार्थ २ अलगअलग मिनि ट्रकमा लोड गरी अगाडि नै हिँडिसकेका थिए । त्रिशूली र पासाङ ह्लामु शेर्पा राजमार्गको यो मनमोहक यात्रा ८ घन्टाको थियो । करिब ७० किलोमिटर जति कच्ची सडकको जोखिमपूर्ण यात्रा भए पनि बाटोमा पर्ने शिवपुरीको डाँडो,धार्मिक र ऐतिसाहिक महत्त्व बोकेको पवित्र वेत्रावती नदी र रसुवा जिल्लाका उच्चतम पहाडका छाँगाबाट तलतिर हाम्फाल्दै गरेका अनेक छहराहरू,हरियाली पहाड, लाङटाङ राष्ट्रिय निकुञ्जको ऐकान्तिक रमणीयता र पहाडका माथिमाथिबाट नागबेली आकारमा लमतन्न पसारिएर पथिकहरूलाई गन्तव्यसम्म पुर्याउन लालायित मार्गहरूको प्राकृतिक सौन्दर्यले जोकसैलाई पनि मन्त्रमुग्ध पार्दथ्यो ।त्रिशूलीमा रोटी सब्जी र फलाहार तथा मध्याह्न ३:३० बजे स्याफ्रुबेशीमा चियापान गर्दै अगाडि बढेको हाम्रो पहिलो दिनको यात्राले रसुवाढीमा पुगेर कैशाल होटल र याङ्किला होटलमा विश्राम लिन पुग्यो । पहिलो दिन नै हामीहरूले नेपालतर्फको अध्यागमनको काम पूरा गरिसकेका थियौँ ।
साउन १२ गतेका दिन हामीहरूले नेपाल-चीन बीचको मितेरी पुलसम्म करिब १ किमि पैदलयात्रा गरी चीनतर्फको अध्यागमन र बोर्डरका औपचारिताहरू पूरा गरेर तिब्बतको केरूङ उपत्यकासम्म पुग्नुपर्ने भए तापनि तिब्बतबाट नेपालप्रवेश गर्ने केरूङ खोलाको तिब्बती भूभागमा अघिल्लो दिनको भीषण वर्षाले मार्गलाई क्षतिग्रस्त बनाएकोले आज सम्भवत: बोर्डर नखुल्ने गाइँगाइँ हल्ला अघिल्लो राति नै सुनिसकेका थियौँ । तथापि हाम्रो कम्पनीले झोलाहरूलाई मालवाहक साधनमा लोड गरी मितेरी पुलसम्म पुर्याइसकेको थियो । आजलाई बोर्डर पक्कापक्की नखुल्ने नै निधो भइसकेपछि म र मेरा मित्र श्याम खनाल दुई जना भएर चियानास्ता गरी बोर्डरसम्म पुग्यौँ । बाटोमा पर्ने नेपाली सेनाको चेकपोष्टमा कार्यरत सेनाका जवानहरूसँग छोटो कुराकानी गरी बोर्डर र त्यहाँको वस्तुस्थितिबारे जानकारी बटुल्टै बोर्डरमा अवस्थित मितेरी पुलमा पुग्दा हाम्रा आँखाहरू नवीनताप्रतिको आकर्षण र कौतूहलले विस्फारित भइसकेका थिए ।
सिन्धुपाल्चोक जिल्लाको शिरानबाट दुईधारमा विभाजित भएर बगेको भोटेकोशी नदीको एउटा भङ्गालो रसुवाबाट र तिब्बतबाट बग्दै आइरहेको केरूङ खोलाको सङ्गमले नेपाल र चीनको अन्तर्राष्ट्रिय सीमालाई छुट्याएको रहेछ। ओदाने पहाडको खोँचमा पारिपट्टि बनेको चीनको विकास र नेपालतर्फको विकासको अवस्थालाई तुलनात्मक रूपमा नियाल्दा मन कटक्क खान्थ्यो । देशनिर्माणको इच्छाशक्ति नभएका तर जनतामाझ विकासको भ्रमपूर्ण आश्वासनको बिस्कुन सुकाउन सफल अगुवाहरूको हविगत सम्झेर मन एकतमासको भइरहेको थियो । एकातिर अट्टालिकाहरू छन् भने अर्कातिर सडक छेउमा बनेका ससाना टहराहरू छन् । सशस्त्र प्रहरीको सीमा चेक पोस्ट टिठलाग्दो देखिन्थ्यो । यहाँ पनि अरूको श्रेष्ठताको गहनताले थिचिएर स्वाभिमान कुप्री बुढीजस्तै कच्याककुचुक भएको थियो ।
खिन्नताका सुस्केराहरू छोड्दै हामीले केही तस्बीरहरू मोबाइल क्यामेरामा कैद गर्यौँ । किनारमा संरक्षणको पर्खाइमा जीर्ण अवस्थामा रहेको रसुवागढी माइको मन्दिर ऐतिसासिक कालखण्डमा हाम्रा वीर पुर्खाहरूले देशको सीमा विस्तार गर्ने क्रममा तिब्बतसँग युद्ध गरी विजय प्राप्त गरेको ऐतिहासिक घटनाको साक्ष्य प्रमाण थियो । मन्दिरकै वरिपरि मित्रराष्ट्र चीनको आर्थिक प्राविधिक सहयोगमा बन्दै गरेको भन्सार कार्यालय र विद्युत गृह देखिन्थ्यो । यी सबै कुराहरूलाई अवलोकन गर्दै हामीहरू होटलको कोठामा फर्कियौँ ।
साउन १३ गते पनि बाटो खुल्ने लक्षण देखिएन । अपराह्नको समयमा स्वामीज्यूहरूका साथमा हामीहरू टिमुरे बजारको अवलोकन गर्न तल झर्यौँ । बजारबीचमा ज्ञानानन्द गुरूज्यूका भक्त कृष्ण गैरे जो कृषि क्वारेन्टाइन रसुवाका अधिकृत हुनुहुन्थ्यो उहाँसँग भेट भयो । उहाँले टिमुरे बजारको अवलोकन गराउनु भयो । सूर्यनारायण अस्ताचलतर्फ अग्रसर भइरहेकै बखतमा हामीहरू नदी किनारमा एकछिन सुस्ताएर होटलमा फर्कियौँ । मनमा जुन उत्साह बोकेर यात्रारम्भ गरेका थियौँ प्राकृतिक अवरोधले उत्साह सेलाउन लागिसकेको थियो तर भोलि बाटो खुल्ने आशामा आजको रात पनि बित्यो ।
साउन १४ गते बोर्डर खुल्यो । चिया नास्तापछि हाम्रा झोलाहरूलाई कम्पनीका मित्रहरूले मालबाहक साधनमा लोड गरी बोर्डरसम्म पुर्याइसक्नुभएको थियो भने हामीहरूले सानो झोला भिरेर बिहानको ८ बजे नै बोर्डरमा पुग्यौँ । १० बजेतिर बोर्डर खुल्यो । चिनियाँ सुरक्षाकर्मीहरूले हाम्रा कागजात, झोलाको परीक्षण र हाम्रो हात र मुखमण्डलको प्रविधिमार्फत बायोमेट्रिक गरिसकेपछि हामीहरू साीमापार पुग्यौँ । यसपछि नेपाली सिमले काम नगर्ने भएकाले सबैले परिवारका सदस्यहरूलाई सम्पर्क गर्यौँ । नेपाली रूपैँयालाई चिनियाँ रूपैयाँ युयानमा सटही गर्यौँ । तिब्बत/चीनका गाइड र कम्पनीका प्रतिनिधिहरूले ल्हासा ट्रान्सपोरेसन कम्पनीका ३ सवारी साधन र २ मालबाहक मिनि ट्रकको व्यवस्था गरिसक्नुभएको रहेछ । हामी तीर्थालुहरूलाई लिपिविहीनका सेता थाङ्काले स्वागत गर्दै सामूहिक चित्राङ्कनपछि गाडीमा सबार भयौँ ।
देब्रेपट्टि चालक सिट भएका सुविधासम्पन्न गाडीमा चढेर केरूङ खोलाको किनारैकिनार अल्लि अगाडि बढेपछि गाडीले उकालो लियो । सल्लाका अग्लाअग्ला रूखहरू र लताकुञ्जले सुशोभित हरियाली प्रकृति, घुम्ती र मोडहरूले बनेको चिल्लो पहाडिया बाटो, बााटोमा पर्ने सुरूङमार्ग र चिनियाँ शैलीमा निर्मित ससाना बस्तीहरू पार गर्दै नेपाली समयानुसार ३ बजे र चिनियाँ समयानुसार ५:१५ बजे केरूङ सहर पुगेर हाम्रो हाम्रो यात्राले पिम ग्रिन इन होटलमा दोस्रो दिनको विश्राम लियो ।
बोर्डरदेखि २३ किमिको दुरीमा १ घण्टाको बस यात्राबाट पुगिने तिब्बतको पहिलो सहर केरूङ समुद्रीसतहदेखि २६०० मिटरको उचाइमा अवस्थित छ । सुन्दर हिमाली उपत्यकामा रहेको केरूड बजार चिनियाँ विकासको एउटा सुन्दर नमुना नै थियो । सोलारजडित बत्ती, चिल्लो बाटो र सीमापार व्यापारको केन्द्रका रूपमा रहेको यो सहरमा नेपाली सीमाञ्चल क्षेत्र रसुवाका स्थायी नेपाली नागरिकहरूका लागि सहज भिसामा काम गर्ने अनुमति रहेछ । हरेक पसलहरूमा दोभासे नेपाली सहयोगीहरू भेटिन्थे भने नेपाली पसलहरू पनि प्रशस्त थिए । बन्द कोठामा भन्दा यहाँको बाह्य वातावरणमा हिँडडुल गरे हाम्रो शरीरलाई उचाइको जलवायुसँग शीघ्र सामञ्जस्य स्थापित गर्न मद्दत पुग्ने ठानेर हामीले त्यहाँको बजारक्षेत्र डुलेर केही रूचिअनुसारका सामग्री खरिद गर्यौँ ।
देशका नेताहरूले चुनावी क्षण वा २०७२ को विनाशकारी महाभूकम्पको बेला केरूङ- काठमाडौँ रेलमार्गको जुन सपना देखाउने गर्थे त्यो ययार्थमा परिणत हुन सहज छैन भन्ने कुरा यहाँ पाइलो टेकेपछि झर्लङ्ग भइरहेको थियो । कम्पनीका साथीहरूले भोजन तयार गरिसकेपछि रात्रि विश्राम गर्यौँ ।
साउन १५ गते बिहान नास्ता गर्यौँ । आज खीर खाने दिन भएकाले बिहानको भोजनमा खीर पाक्यो । भोजनपश्चात् हामीहरू केरूङ सहरबाट १ बजेको समयमा साँगा सहरका लागि प्रस्थान गर्यौँ । बाटोमा पर्ने सुन्दर झर्नानिर रोकिएर सामूहिक र एकल तस्बीर लियौँ । कतिपयले ऐँसेलु टिप्नुभएको रहेछ ,एकाध दाना चाख्यौँ । झर्नाको संरक्षण र पर्यटकीय विकासका लागि त्यहाँको सरकारले देखाएको चासो साँच्चिकै प्रशंसनीय थियो । नेपालको रसुवा जिल्लामा त्योभन्दा पनि लामालामा झर्नाहरू थिए तर गरिबको घरमा जन्मिएकी सुन्दर कन्याको जेजस्तो अवस्था हुन्छ ठिक त्यस्तै त्यसको संरक्षण र विकासमा सम्बद्ध निकायको चासो र चिन्ता नदेखिएको पाउँदा मन चिन्तित पनि हुन्थ्यो ।
केरूङ खोलाको कछाडैकछाड हरियाहरिया पहाडका फरिया लगाएर निधारमा हिउँका सेता अक्षता टाँसेका कुनै सुकन्याजस्ता पहाडहरू छिचोल्दै बस आफ्नै मताबमा अघि बढ्दै थियो । अब हरिया पहाडका सट्टा नेपालको मुस्ताङका पहाडका जस्ता अनेकन प्राकृतिक कलाकृतिले सुसज्जित मनोरम चट्टानी पहाड र मनोनुकूलका चित्र आँखा वरिपरि आउँदै जाँदै गर्थे । ससाना घाँसे पहाड, सुरूङमार्ग पार गर्दै हामीहरू केरूङदेखि १८० कि ममिको दुरीमा ४ घण्टाको बस यात्राबाट ब्रह्मपुत्र नदीको पुल तरी साँगा सहर पुग्यौँ ।
साँगा सहर ब्रह्मपुत्र नदीको किनारमा अवस्थित छ । कैशालपर्वतको पूर्वी मोहडाबाट उत्पन्न भएको यो ब्रह्मपुत्र नदी तिब्बती पठार क्षेत्र हुँदै ल्हासा र अरूचाणल प्रदेशको विशाल क्षेत्र पार गर्दै आसामको मैदानी भूभाग हुँदै बङ्गलादेश पुगेर समुद्रमा मिसिन्छ । समुद्री सतहदेखि ४६४० मिटरको उचाइमा अवस्थित साँगा सहरको ब्रह्मपुत्र होटलमा झोला बिसाई हामीहरू साँगा सहर घुम्न निस्कियौँ । यो सहरमा केरूमाजस्तो नेपालीहरू हुने कुरा थिएन र पासपोर्टबिना बाहिर निस्कन हुँदैन भन्दाभन्दै पनि बजार क्षेत्र डुल्यौँ र सामान्य किनमेल पनि गर्यौँ । ९ बजेतिर भोजन गरी रात्रि विश्रामका लागि आआफ्ना कोठामा गयौँ । कोठाहरू वातानुकूलित थिए भने कोठाहरूमा कृत्रिम अक्सिनको व्यवस्था पनि गरिएको देखिन्थ्यो । सास फेर्न गाह्रो भइरहेको हुँदा उपलब्ध सेवाहरूको प्रयोग पनि गरिएको थियो ।
साउन १६ गते, आज हामीहरू साँगाबाट ४९० किमिको दुरी र ७ घण्टाको बसयात्रा गरेर पुगिने मानसरोवर तालका लागि प्रस्थान गर्यौँ । नेपाली समयानुसार बिहान ७ बजे चियानास्ता गरेर दिउँसोका लागि खुल्ला ठाउँमा बसेर खान भोजनहरू ठुला हट्केसमा राखेर हिँड्यौँ । श्वासप्रश्वासमा कठिनाइको अभिलक्षण सबै यात्रीहरूमा देखापर्दै थियो । मेरो पेट हिजो बेलुकादेखि नै डम्म परेको थियो । बिहानै उदरविकारको सङ्केत देखापर्न थाल्यो । खीर पचाउन नसक्ने पाचनप्रणाली र यात्रीहरूले ल्याएका मकै, चना र छोप अनि चिसोको असर पेटले देखाउन थाल्यो । त्यो दिन मेरो हालत मुनामदन खण्डकाव्यको नायक मदनको जस्तै खराब थियो । खानाको हस्को आउनेबित्तिकै पेट निचोर्न थाल्थ्यो । पखाला रोक्ने औषधि सेवन गरेँ तर अहँ पेट मसित अघोरै रिसाएर कराएको बाहिरबाटै श्रवणानुभव गर्न सक्दथेँ तर मनलाई बाह्य वातावरणमा भुलाउने चेष्टा गरिरहेँ ।
तिब्बतको भूबनोटले पर्यटकलाई आफू भूस्वर्ग भएको अनुभूति गराउन कत्ति कमी गरेको थिएन । अग्लाहोचा पहाड र उपत्यकै उपत्यकाको शृङ्खलामा आवद्ध भएर नागबेली आकारमा निर्मित बाटोघाटो,नागियुँ र भेडीचौरको घाँसे मैदान अनि बुकीलगायतका लेकाली वनस्पतिले सुसज्जित ठाउँहरू बसभित्रको आँखीझ्यालबाट नियाल्दा कतिकतिबेला आफ्नै आँखालाई विश्वास नलाग्ने दृश्यहरू देखिँदै र ओझेल पर्दै जान्थे । आफ्नो शोभा र दिव्यसौन्दर्यको जादुगरी मादकताले मानिसलाई सहजै लठ्याउन सक्ने क्षमता प्रकृतिमा अन्तर्निहित हुनेरहेछ ।
दिउँसोको १ बजे भोजनका लागि गाडी रोकियो । आज एकादशीको पवित्र दिन भएकोले भोजनमा मकैको आटो, तरकारी, फलफूलहरू थिए । घाँटीबाट तल एक गास पनि गएन । झाडापखालाले ग्रस्त म प्राय:खुल्ला र सार्वनजिक शौचायलमा हाजिर लगाउने ध्याउन्नमा हुन्थेँ । तिब्बतको सार्वजनिक शौचालय यात्राको बिर्सनलायक क्षेत्र नै हो भन्दा अत्युक्ति नहोला । भोजनादि कर्म गरेर हामीहरू करिब ४ बजे मानसरोवरको नजिक पुग्यौँ । त्यहाँ रहेको एउटा स्टेसनमा हामीहरूले सीमादेखि यात्रा गरेको बस परिवर्तन गरेर सरकारी बसमा आरूढ भई घडीको दिशाबाट पवित्र मानसरोवरको पूर्वी तटको परिक्रमा गर्यौँ । सडकछेउमै जोडिएको मानसरोवर तालको किनारमा उत्रिएर जलस्पर्श, पञ्चस्नान सामान्य पितृतर्पण र सूर्यार्घ्य अर्पण गर्यौँ ।
विशाल क्षेत्रमा विस्तारित निलो रङ्गको मानसरोवरमा छचल्किरहेको जलतरङ्ग मानौँ हामीहरूको स्वागतार्थ किनारसम्मै आइरहेको प्रतीत हुन्थ्यो । मानसरोवरमा मात्र पाइने नीरक्षीरविवेकी राजहंसको जलक्रीडा, वरिपरिका हिमाल र पहाड देखेर अपूर्व दिव्यानन्दानुभूति भइरहेको थियो । त्यहीँ एकछिन भजनसङ्कीर्तन र फोटो खिच्यौँ । मानिसलाई नै उडाउलाजस्तो गरेर तुफानी गतिमा प्रवाहित चिसो हावाबाट बच्न बसमा चढेर पुन:मानसरोवरको परिक्रमा गर्दै राक्षस तालको परिक्रमा गर्यौँ । राक्षस ताललाई हेर्न नहुने मान्यताविपरीत मैले फोटो खिच्दै र तालको अवलोकन गर्न भने छोडिनँ । झमक्क साँझ परिसकेपछि हामीहरू कुनै भारतीय स्वामीले निर्माण गरिदिएर हाल चीन सरकारको स्वामीत्वमा रहेको स्वामीजी आश्रममा विश्राम लियौँ ।
साउन १७ गते पवित्र मानसरोवरमा स्नान, पूजा र हवनादि कर्मको दिन थियो । बिहान उठेर शौचादि कर्म सम्पन्न गरी हामीहरू सरोवर स्नानका लागि सबेरै निस्कियौँ । तालमा फोहोर नहोओस् भनेर चीन सरकारले हेरालुको व्यवस्था गरेको रहेछ । त्यसैले सरोवरमा डुबेर स्नान गर्न पाइन्नथ्यो र तालबाट बाल्टीमा जल ल्याई स्नान गर्ने र वस्त्र परिवर्तन गर्ने ठाउँको आवश्यक व्यवस्थापन कम्पनीले नै मिलाइदिएको थियो र तदनुरूप नै हामीहरूले स्नान,ध्यान र जपादि कर्म गर्यौँ ।
मानसरोवर कैलास पर्वतबाट प्रवाहित भई जलाशयका रूपमा सञ्चित सरोवर हो । सृष्टिकर्ता ब्रह्माको मनबाट उत्पन्न भएको हुनाले यसको नाम मानसरोवर रहन गएको एकथरि अभिमत पनि पाइन्छ भने यसै तालका १०८ कमलपुष्पद्वारा श्रीहरिविष्णुले आफ्ना आराध्यदेव भूतभावन भोलेनाथको वन्दना गर्नुभएको र यहाँ स्नान तथा जलाचमन गर्नाले प्राणीका समस्त पापहरू नष्ट हुने शास्त्रीय प्रमाणहरूको वर्णन स्कन्दपुराणको मानसखण्डमा उल्लेख गरिएको पाइन्छ ।
ब्राह्मणोचित नित्यकर्मपश्चात् यसै सरोवरको किनारमा हामी समस्त तीर्थयात्रीहरू गोलाकार रूपमा बसेर वैदिक विधिविधानबमोजिम कैलासाधिपति शिवशङ्करको पूजा एवं रूद्राभिषेक कर्म गर्न थाल्यौँ । कैलासाभिमुख भई गुरूत्रय र पण्डितजनले मन्त्रोचारण गर्दै रूद्राभिषेक गराउनुभयो र अन्त्यमा तीर्थहवन गर्यौँ । गुरुजीले यहीँबाट तीर्थ हवनको पूर्णाहुति धापासीस्थित हरिहर मन्दिरमा गर्ने उद्घोष गर्नुभयो ।पूजनादि कर्म सम्पन्न गरी कम्पनीका भण्डारेहरूद्वारा निर्मित भोजन ग्रहण गरी ४५ किमि दुरीमा रहेको १ घण्टाको बसयात्राबाट पुगिने समुद्री सतहदेखि १६७० मिटरको उचाइमा अवस्थित दार्चेन सहरस्थित हिमालय कैलाश होटलमा रात्रि विश्रामका लागि पुग्यौँ ।
साँझको भोजन पछि सबै यात्रीहरू एकत्र भयौँ र गुरूजी र कम्पनीका पथप्रदर्शक विक्रम कार्कीले कैलास पर्वतको पदयात्रामा जान स्वास्थ्यअनुकूल हुनुभएका महानुभावहरूले नाम टिपोट गराउन र झोला तथा घोडाको सबार सुविधा लिन इच्छुकहरूले नाम टिपोट गर्न निर्देशन गर्नुभयो । आज पनि मेरो स्वास्थ्यस्थितिमा सुधारको सङ्केत देखिएको थिएन तथापि मैले पदयात्राीको नामावलीमा आफ्नो नामाङ्कित गराएँ र भोलि सबेरै निस्कनुपर्ने भएकाले रात्रि विश्रामका लागि प्रदत्त प्रकोष्ठको साँचो लिएर विश्रामका लागि गयौँ ।
साउन १८, १९ र २० गते कैलास पर्वतको पैदल परिक्रमा गर्ने दिन हुन् । पहिलो दिन यमद्वारदेखि डेरापुकसम्म १३ किमि पैदलयात्राको समय ६ घण्टा लाग्छ । यो समुद्री सतहदेखि ४९२० मिटरको उचाइमा पर्दछ । दोस्रो दिन डेरापुकदेखि जुटुफुकसम्म २२ किमि पदयात्रा गर्नुपर्छ र त्यसका लागि १० घण्टा लाग्छ । यो भाग समुद्री सतहदेखि ५६०० मिटरको उचाइमा अवस्थित छ भने तेस्रो दिन जुटुफुकदेखि दार्चेन ७ किमि ३ घण्टाको पदयात्रा गरी कैलास पर्वतको एक परिक्रमा पूरा गर्न तीन दिन लाग्दछ ।
कैलास (के जले लासो दीप्तिरस्य) अर्थात् जसको दिव्य कान्ति मानसरोवरमा पर्दछ त्यो कैलास हो । कैलास हिमालय शृ्ङ्खलामा रहेको शिव र कुवेरको वासस्थान मानिने शिवको दिव्य धाम हो । कैलास तल कालो पत्थर र चुचुरोमा हिउँ भएको शिवलिङ्गाकार स्वरूपको जस्तो देखिन्छ । शिवका अन्य ज्योतिर्लिङ्गहरूको उत्पत्तिका कथाहरू भए पनि यो दिव्य धाम अनादिकालदेखि नै स्वत:निर्मित र शिवको ध्यानावस्थाको पावन क्षेत्र हो । यस पर्वतका वरिपरि १६ पत्रका कमलजस्ता चुचुरा भएका १६ओटा पहाड छन् । यीमध्ये १४ चुचुरा गन्न सकिन्छ । यसै पर्वतमा गौरीकुण्ड रहेको छ जुन कुण्ड माता पार्वतीको कथासँग जोडिएको छ । कैलास पर्वतको चुचुरो छुनु हुँदैन भन्ने मान्यतानुसार यसको परिक्रमामात्र गरिन्छ ।
कैलासप्रति वैदिक सनातनीहरूको जति आस्था र श्रद्धा छ तिब्बती बौद्धमार्गीहरूको पनि उत्तिकै ठुलो श्रद्धा रहेको देखिन्छ । उनीहरू दण्डवत् गर्दै २०/२२ दिनमा यस पर्वतको एक परिक्रमा पूरा गर्ने रहेछन् । कैलास पर्वतको मौसम स्थिर रहँदैन, उतिखेरै घाम लाग्छ भने उतिखेरै हिमपात र वर्षा हुन्छ । यो एउटा रहस्यले भरिपूर्ण पर्वत हो । पृथ्वीको मध्यभागमा अवस्थित भएकाले नासाले पनि यसलाई `एक्सिस मुण्डी´ को नाम दिएको छ । आजसम्म कसैले पनि आरोहण गर्न नसकेको यस दुर्लङ्घ्य पर्वतको शिखरमा दिव्य अलौकिक शक्ति विराजमान रहेकोले चीन सरकारले पनि यस पर्वतमा कसैलाई आरोहण गर्ने अनुमति दिएको छैन । कैलास पर्वतको पश्चिमी भेगबाट कर्णाली र पूर्वी भेगबाट ब्रह्मपुत्र नदी उत्पन्न हुँदा रहेछन् ।
हामीहरूमध्ये दीर्धरोग, बृद्धता, श्वासप्रश्वास र लेक लागेकाहरू यमद्वारसम्म पुगी निकट क्षेत्रबाट कैलासको दर्शन गरी दार्चेन फर्कियौँ भने ६३ जनामध्ये २५ जना यात्रीहरूले दिव्य कैलासलाई निकटतम क्षेत्रबाट दर्शन गर्दै परिक्रमा पूरा गरी दार्चेन आइपुग्न समर्थ हुनुभयो ।
दिव्य कैलासको परिक्रमासँगै हाम्रो यात्रा सम्पन्न भएको भयो । त्यसपछि साउन २१ गते हामीहरू दार्चेनबाट साँगा र २२ गते साँगाबाट केरूङ र रसुवागढी नाका हुँदै रात्रि १०:३०बजे काठमाडौस्थित हरिहर मन्दिरमा सकुशल आइपुग्यौँ । यात्रा दिव्य रहेको भए तापनि यस पावन तीर्थयात्राका लागि प्रारम्भिक समयदेखि नै सक्रिय र ऊर्जा प्रदान गर्ने नेपाली भजनसङ्गीतका प्रखर प्रतिभा चेतराज कण्डेलजीलाई अन्तिम समयमा आएर साथमा नपाउँदा कताकता खल्लो अनुभूति भइरहेको थियो ।
यस प्रकार हामीहरूले मानसरोवर र दिव्य कैलास धामको तीर्थाटन सुसम्पन्न गर्यौँ । सन्त महात्माहरूसँग भजनसङ्कीर्तन गर्दै तीर्थयात्रा गर्नुलाई मैले जीवनको एक पुण्य र अविस्मरणीय यात्राका रूपमा ग्रहण गरेको छु । तिब्बती क्षेत्र सामान्यतया साँझ परेपछि चिसो हुने भएकाले ३ जोर न्याना लुगा, ४ जोर हल्का लुगा, मोजा, पन्जा, ज्याकेट ,थर्मस, रेनकोट, लट्ठीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । ११ दिनको लामो कठिन यात्रा र कम्तीमा दुई लाख रूपैयाँको लागत खर्च हुने यस यात्रामा निस्कन चाहुने हुने जो कसैले पनि पासपोर्ट र भिसाको काम पूरा पर्दछ भने कुनै आधिकारिक ट्रावल एजेन्सीमार्फत् यात्रा गर्दा सहज हुने देखिन्छ ।
यस पावन तीर्थयात्राका लागि मलाई अवसर प्रदान गर्नुहुने स्वामीजी महाराज, द ट्रेकर्स सोसाइटीका सम्पूर्ण कर्मचारी मित्रहरू,यात्राका लागि मलाई सहज वातावरण तयार गरिदिने शिक्षणसंस्थाका प्राचार्यज्यू,सहकर्मी मित्र श्याम खनालजी र समस्त तीर्थयात्री बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सादर कृतज्ञताज्ञापन गर्न चाहन्छु ।
(लेखक सापकोटा कालिका संस्कृत विद्यापीठका उपप्राध्यापक हुनुहुन्छ ।)