देवचुली, २८ साउन ।
देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता जनज्योति माध्यमिक विद्यालयको सभाहलमा गरिएको हो ।
देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्य रहेको थियो । देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, देवचुली ९ का वडाध्यक्ष बलिराम सापकोटालगायत नगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
‘युवा, सीप र स्वरोजगार समृद्ध नगर निर्माणको आधार’ भन्ने शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवचुली नगरपालिकाका १३ वटा माध्यमिक विद्यालयका सहभागिता रहेको थियो । प्रतियोगितामा वाईज भिजन माध्यमिक विद्यालयका प्रिस्किला बराम प्रथम, जनज्योति माध्यमिक विद्यालयकी प्रशंसा काफ्ले द्वितीय, नेपाल नमुना माध्यमिक विद्यालयका सुदीप पोख्रेल तृतीय भएका छन् । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमशः नगद ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य ढुण्डीराज केसीले स्वागत मन्तव्य राखेका थिए भने प्रतियोगिताको सहजीकरण आयोजक संस्थाका सचिव प्रकाश काफ्लेले गरेका थिए ।