उदय अधिकारीको खगेन्द्र संग्रौलासॅंगको संवाद अविश्रान्त लखरलखर पुस्तक पढेर सकेँ । खासमा यो किताब मैले पहिल्यै पढिसक्नुपर्ने थियो । तर संयोग कस्तो पऱ्यो भने किताब निस्कने समयताका म मलुकबाहिर थिएँ । त्यसैले भर्खरै मात्र मलाई यो पुस्तक पढिसक्ने साइत जुऱ्यो ।
खगेन्द्र संग्रौलालाई उनका अत्यन्त रोचक, व्यंगात्मक र शक्तिशाली लेख रचनाहरूमा मैले पढ्दै आएको हुँ । म उनका लेखहरू भेटेसम्म नछुटाई पढ्छु । तर उनको बारेमा विस्तृतमा म धेरै कुरा जान्दैनथेँ। यो पुस्तक पढ्नुअघि उनको बारेमा सुनेको र समाचारहरूमा पढेको आधारमा मैले उनको सम्बन्धमा एक किसिमको धारणा बनाएको थिएँ । लोकले कम्युनिष्ट भनेर चिनेका यिनी कसरी गगन थापाको चुनावी प्रचारमा गएर कम्युनिष्ट भनिएकै उम्मेदवारहरूको विरूद्धमा मत माग्दै हिंड्न सके होलान्, त्यसो गर्दा त्यसो नगर्न यिनीमाथि कत्रो चर्को दबाब पऱ्यो होला र त्यसलाई यिनले कसरी थेगे होलान् , म सोच्ने गर्थें । तर यो किताब पढेपछि म निश्चिन्त भएँ, यिनी त कहिल्यै कम्युनिष्ट नै रहेनछन् । न त यिनी तिनलाई नै कम्युनिष्ट मान्छन् जो गगन थापाको विरूद्धमा मैदानमा थिए । यिनी तिनलाई कमाउनिष्ट भन्दछन् । यिनी न आफूलाई कम्युनिष्ट मान्छन् न त उनीहरूलाई नै कम्युनिष्ट ठान्दछन् । यसरी हेर्दा यिनको नजरमा नेपालमा सच्चा कम्युनिष्टको संख्या नगण्य छ । `जीवितहरूको जगतमा कहिल्यै नभेटिने गरी अलप भएका´ निर्मल लामा र शशी शेरचन उर्फ स्वनाम साथी मात्र यिनले देखेभेटेका थुप्रै कम्युनिष्ट भनिने मध्येका सच्चा कम्युनिष्ट रहेछन् ।
कम्युनिष्ट नभए पनि खगेन्द्र संग्रौला मार्क्सवादी चाहिं हुन् । अविश्रान्त लखरलखरमा उनी भन्छन्- `मार्क्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परिक्षण गर्ने दर्शन हो । र, आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो ।´ मार्क्सवादी भएर पनि कम्युनिष्ट नहुन सकिन्छ भन्ने कुराको उदाहरण त स्वयं वी.पी. कोइरालाले मार्क्सवादको वैज्ञानिकतालाई स्वीकार गरेबाट पुष्टि हुन्छ ।
उदय अधिकारीको छुट्टाछुट्टै प्रश्नको जवाफमा खगेन्द्र संग्रौला लेख्छन्- `सुदूर भविष्यको न्यायपूर्ण र मानवीय समाजको सपना देख्ने र त्यो सपनालाई साकार रूप दिन अहिल्यैदेखि लड्न प्रेरित गर्ने कम्निस्ट सिद्धान्त र आदर्श मलाई मन पर्छ । त्यो मलाई मन पर्न छाड्यो भन्नुपर्ने कुनै कारण छैन । र, मेरो बाँकी जीवनमा त्यस्तो कारण बन्ला भन्ने पनि मलाई लाग्दैन ।´ अनि `ए म कम्निस्ट रहिनॅं´- यो भनाइ मेरो होइन । जो कहिल्यै जे भएकै छैन, उसले म त्यस्तो रहिनॅं भन्नु न जरुरी हुन्छ, न त त्यस्तो भनाइको कुनै तुक नै हुन्छ । वास्तवमा म कहिल्यै कम्निस्ट भइनॅं ।
संग्रौला नास्तिक भने अवश्य हुन् । उनी भन्छन्- `मेरो जीवन न यसअघि थियो न यसपछि हुनेछ । मेरो जीवनको आरम्भ यही लौकिक र भौतिक जगतमा भएको हो, मेरो जीवनको अन्त्य पनि यही लौकिक र भौतिक जगतमा हुनेछ ।´ तर नास्तिक हुनु मात्र पनि कम्युनिष्ट हुनु होइन ।
संग्रौलामा विद्रोही चेत छ । विद्रोही चेत भएका सबै कम्युनिष्ट हुँदैनन् । कहिले सांसद बन्न, कहिले शिक्षा वा सञ्चार मन्त्री बन्न, कहिले प्रज्ञा प्रतिष्ठानको कुलपति बन्न आएका सबै अफरलाई ठाडै इन्कार गरेका उनी आफ्नै विवेकको आदेशबाट निर्देशित हुन्छन् । उनी मान्छेको स्वतन्त्र चेतमा विश्वास गर्छन् । यिनी कसैको हुकुम आदेश वा अह्रनखटन मान्दैनन् । यिनलाई स्वतन्त्रता औधी मन पर्छ । अनि यी सबै गुण र स्वभावहरूसहितको मान्छे कम्युनिष्ट त कसरी हुन सक्छ र ?