भरतपुर, २६ साउन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक नभएको बताएकी छन् । शैक्षिक क्षेत्रमा राज्यको लगानीअनुसारको प्रतिफल नआएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको भवन उद्घाटन गर्दै नगर प्रमुख दाहालले निजीको तुलनामा सामुदायिक विद्यालयको नतिजा हेर्दा सन्तोषजनक नभएको बताएकी हुन् ।
‘शैक्षिक क्षेत्रमा राज्यले यति ठूलो लगानी गर्दै आएको छ । तर, नतिजा भने लगानीअनुसार हुन सकेको छैन,’ उनले भनिन्, ‘एकाधबाहेक अधिकांश विद्यालयको नतिजा चिन्ताजनक छ ।’ भरतपुर महानगरपालिकाले स्थानीय तह आएपछि भौतिक क्षेत्रमा राम्रो प्रगति गरे पनि शैक्षिक क्षेत्रको नतिजाले चित्त बुझाउन नपाएको उनले बताइन् ।
‘सामुदायिक विद्यालयमा जति लगानी बढ्दै गएको छ, त्यति नै विद्यार्थी सङ्ख्या घट्दै गइरहेको छ,’ उनले भनिन्, ‘यसले पनि हामीलाई शैक्षिक क्षेत्रमा काम गर्ने चुनौती थपिँदै गएको छ ।’ स्थानीय सरकार पनि सरकारकै अङ्ग भएको हुँदा निजी क्षेत्रभन्दा अगाडि सरकारी क्षेत्र नै प्राथमिकतामा पर्ने बताउँदै उनले थपिन्, ‘निजी क्षेत्रलाई पनि हामीले गर्नुपर्ने सहयोग गर्छौँ । र, गर्दै आएका पनि छौँ ।’
शैक्षिक क्षेत्रमा निजी विद्यालयको नतिजाकै कारण जिल्लाको शैक्षिक विकास हेर्न लायक भएको उनको भनाइ छ । ‘त्यसकारण समग्र जिल्लाको नतिजा हेर्ने हो भने निजी विद्यालयको भूमिका अतुलनीय छ,’ उनले भनिन् । दाहालले शनिबार भरतपुर महानगरपालिका वडा नम्बर- ११ स्थित गणेशधामनजिकै निर्माण भएको प्याब्सन भवनको उद्घाटन गरेकी हुन् ।
प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालका अनुसार एक कठ्ठा १२ धुर जग्गामा बनेको भवन करिब ८५ लाख रूपैयाँ लागतमा निर्माण भएको हो । प्याब्सनले संस्था स्थापनाको साढे तीन दसकपछि बल्ल आफ्नै भवन पाएको उनले बताए ।
उक्त भवन उद्घाटनकै अवसरमा प्याब्सनले वर्ष २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने दुई सामुदायिक विद्यालयसहित १२ विद्यालयका २० जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको थियो । चार जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको प्याब्सन चितवनका सचिव मदन पुरीले जानकारी दिए ।
त्यसबाहेक भवनको लागि जग्गा खरिदमा महत्त्वपूर्ण योगदान पुर्याएका ९ जना र प्याब्सनमा बसेर काम गरेका थप ९ जना पूर्वपदाधिकारीहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका तर्फबाट प्रतिनिधित्व गर्दै विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।
संस्थागत विद्यालयलाई संगठित गराउन २०४६ सालमा स्वर्गीय बिलाल मोक्तानको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि सुरू भएको प्याब्सनको यात्रामा हालसम्म १५३ विद्यालय आवद्ध भएका छन् ।