मकवानपुर, २६ साउन ।
सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यंग्यात्मक गाइजात्रा कार्यक्रम गर्ने भएको छ । सिस्नुपानी मकवानपुरको आयोजना तथा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवद्र्धनमा कार्यक्रम गरिने शनिबार हेटौंडामा पत्रकार भेटघाट आयोजना गरी जानकारी गराइएको हो ।
सिस्नुपानी मकवानपुरले ४ नम्बर वडा कार्यालयको सहयोग तथा समन्वयमा कविता, प्यारोडी गायन, समसामयिक राजनीति र सामाजिक क्षेत्रका विकारका विरूद्धमा प्रहसन, मनोरञ्जनात्मक क्यारिकेचरसहितको गाइजात्रा गर्न लागेको हो । आगामी भदौ ३ गते हेटौंडामा हुने हास्यव्यंग्यात्मक गाइजात्रा कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न प्रदर्शन हुने छन् । हास्यव्यंग्यात्मक गाइजात्रा कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, सामाजिक मुद्दामाथि प्रहसन÷नाटकीय प्रस्तुति, कविता, बजेट भाषणलगायतको प्रस्तुति रहने उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिनप्रसाद लामिछानेले जानकारी दिए ।
राजनीति, समाज, प्रशासनिकलगायत सबै क्षेत्रमा रहेका विकृति र विसंगतिविरूद्ध हास्यव्यंग्य सिर्जनामार्फत् आवाज बुलन्द पार्दै आइरहेको सिस्नुपानी नेपालको स्थापना २०५५ सालमा भएको हो । विभिन्न हास्यव्यंग्यात्मक सिर्जनाहरू प्रहसन, प्यारोडी, कविता, क्यारिकेचर मार्फत् मनोरञ्जन समेत प्रदान गर्दै आइरहेको सिस्नुपानीको जिल्ला शाखाका रूपमा सिस्नुपानी नेपाल मकवानपुर रहिआएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिनप्रसाद लामिछानेले जानकारी दिए ।
संस्थाले विगतमा राष्ट्रव्यापी खुला हास्यव्यंग्य कविता प्रतियोगिता, हास्यव्यंग्य सिर्जनाका सर्जकलाई सम्मान तथा पुरस्कार प्रेरणा र हौसला, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोगलगायतका कार्यसमेत गर्दै आएको उनले बताए ।
संस्थाले स्थापना दिवस विशेष हास्यव्यंग्य कार्यक्रम, गाईजात्रा विशेष हास्यव्यंग्यात्मक कार्यक्रम, भैरव जयन्ति विशेष कार्यक्रम, देउसीभैलो विशेष हास्यव्यंग्य कार्यक्रम गर्दै आइरहेको अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार हास्यव्यंग्य रचना, क्यारिकेचर तथा कार्टुन सिर्जनासँग सम्बन्धित कार्यशालाको तयारी समेत गरिएको छ ।
सिस्नुपानी मकवानपुरद्वारा तीन वटा पुरस्कार प्रदान गरिदै आएको समेत उनले बताए । संस्थापक स्व. गणेशकुमार पौडेल परिवार रहेको गणेशकुमार पौडेल स्मृति हास्यव्यंग्य साहित्य सम्मान, हास्यव्यंग्यकार आरसी रिजाल संस्थापक रहेको हास्यव्यंग्य प्रतिभा पुरस्कार, भैरव अर्याल स्मृति सम्मान (साहित्य संगम मकवानपुरसँग संयुक्त) संस्थापक भैरव अर्याल परिवार रहेको पुरस्कार र सम्मान गरिँदै आएको छ ।