गैंडाकोट, २६ साउन ।
पठन संस्कृति अभियानको ५ औँ शृङ्खलामा ८ जना सहभागीले विभिन्न किताब पढेर टिप्पणी राखेका छन् । उदय अधिकारी, प्राञ्जल पौडेल, बेलु दराइ, इन्द्रराज पौडेल, विप्लव कुँवर, सन्देश घिमिरे, सरस्वती तिमिल्सिना र कृष्णदास घिमिरेले आफूले हालसालै पढेका पुस्तक बारेमा टिप्पणी राखेका हुन् ।
विजय विकास स्रोत केन्द्रको चेतना सदनमा शनिबार बिहान भएको कार्यक्रममा उदय अधिकारीले `संवादमा समयबिम्ब´ पुस्तक बारेमा टिप्पणी राखे । यो पुस्तकमा २० जना विभिन्न व्यक्तिसँग हरि अधिकारीले गरेको संवाद छ । त्यसैगरी गैंडाकोट इङ्लिस स्कुलमा कक्षा १० मा पढ्ने प्राञ्जल पौडेलले शर्मिला खड्का कुँवरको बालउपन्यास `मित्रताको महत्त्व´ पुस्तक माथि टिप्पणी राखे । त्यसैगरी बेलु दराइले जगत नेपालको पुस्तक `पहिलो संसद वीपी महेन्द्र टकराव´ बारे टिप्पणी राखे ।
त्रिवेणी साहित्य परिषद्का अध्यक्ष इन्द्रराज पौडेलले भीष्म उप्रेतीको नियात्रासङ्ग्रह `हिमाल, शेर्पा र यति´को टिप्पणी राखे । त्यसैगरी विप्लव कुँवरले `ठुलो मान्छे´ पुस्तकको बारेमा पाठक प्रतिक्रिया राखे । कपिलदेव लामिछानेको यो पुस्तकले मान्छे ठुलो बन्ने कि असल बन्ने भन्ने बारेमा प्रेरणादायी शिक्षा दिएको कुँवरले बताए । त्यसैगरी सन्देश घिमिरेले रवीन्द्र समीरको उपन्यास `पैसाको उडान´को बारेमा टिप्पणी राखे । राजनीतिमा लागेर भ्रष्टाचार गरेकाहरुको कथा यो उपन्यासमा समेटिएको घिमिरेले बताए ।
त्यसैगरी कावासोतीबाट आउनुभएकी सरस्वती तिमिल्सिनाले पत्रकार यज्ञशको पुस्तक `भुइँया´ पुस्तकको बारेमा टिप्पणी राखिन् । विशेषगरी भूमिहीन समुदायको कथा, व्यथा यो किताबमा रहेको तिमिल्सिनाले बताइन् । त्यसैगरी यो शृङ्खलाका अन्तिम सहभागी कृष्णदास घिमिरेले नयनराज पाण्डेको `उलार´ उपन्यासको चर्चा गरे ।
कार्यक्रमका विशिष्ट अतिथि गोविन्दराज विनोदीले पठन संस्कृति अभियानले समुदायमा पढ्ने बानीको विकास भएको बताए ।
गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पठन संस्कृति अभियानको सफलताको कामना गर्दै यो अभियानलाई नगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथि डाक्टर मिनेन्द्र रिजालले पाठक आफ्नो रुचि अनुसारका किताब पढ्न स्वतन्त्र रहेको बताउँदै किताब कसरी छनोट गर्ने बारेमा चर्चा गरे ।
पठन संस्कृति अभियानको आगामी शृङ्खलामा वीपी कोइरालाका कृतिहरु बारेमा चर्चा गरिने अभियानका संयोजक त्रिलोचन सापकोटाले बताए ।