भक्तपुर, २५ साउन ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भक्तपुर जिल्लाकै पहिलो विद्यालय पद्म माध्यमिक विद्यालयकाे अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बताएकी छिन् । विद्यालयको अवलोकन गर्दै उनले सय वर्ष पुरा भएको विद्यालयलाई स्थानीय तहदेखि प्रदेश र केन्द्रले समेत उपेक्षा गरी इतिहास लोप हुने अवस्थामा पुगेकोले दुःख लागेको बताइन् ।
मन्त्री खड्गीले भूकम्पदेखि हालसम्म विद्यालयकाे शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा जानकारी लिइन् । यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय निकायको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको जानकरी गराए । विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएका कारण पुरातत्त्व र स्थानीय निकायको चेपुवामा पर्दा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूले बताएका थिए ।
मन्त्री खड्गीले विद्यालय निर्माणका लागि प्रदेशबाट सकेकाे सहयाेग गर्ने बताइन् । ‘शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको छ’ उनले भनिन् ‘शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेका हाें । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने समेत मन्त्री खड्गीले निर्देशन दिइन् ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उनले विद्यालयहरूलाई निर्देशन दिएकी हुन् । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरूको भविष्य प्रति गम्भीर भएर अघि बढ्ने समेत उनले बताइन् । अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने मन्त्रीलाई जानकारी गराएका थिए ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेश प्रमुख दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
पद्म माविकाे इतिहास
भक्तपुरमा रणकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो । श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो। समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले दुई कक्षासम्म सञ्चालन गरेका थिए । प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो स्कुल थियो ।
विसं २००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो । यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए । त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
राणा कालदेखि विभिन्न समस्या झेल्दै भक्तपुरको शैक्षिक गुणस्तरलाई ध्यान दिँदै आएको उक्त विद्यालय हाल टहरामा अध्यापन गराउन बाध्य भएको छ । भक्तपुर नगरपालिकाको उपेक्षाका कारण उक्त विद्यालय हाल दहनिय अवस्थामा पुगेको बताइन्छ ।
भक्तपुर नगरपालिकाले दुवै विद्यालयको नक्सा पास सम्म नगर्ने विद्यालयको भौतिक अवस्थाको विषयमा चासो नदिने र कसैले भवन बनाई दिने भनी पैसा दिए पनि भवन बनाउन नदिने जस्ता कार्य गर्दै आएको छ । तर ख्वप कलेज र विद्यालय निर्माणका लागि भने प्रदेशदेखि स्थानीय तहसम्मको ढोका ढकढकाउँदै रकम ल्याउन गरेका छन् ।