चितवन, २५ साउन ।
कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनले प्रथम वार्षिकोत्सव मनाएको छ । भरतपुरमा रहेको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न सहकारी क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष मेघनाथ लामिछानेले गरेका थिए । प्रमुख अतिथिका रूपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक तेजेन्द्रबहादुर खड्का थिए । क्लबका उपाध्यक्ष गोविन्दप्रसाद सुवेदीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव दीपक गौतमले गरेका थिए ।
प्रमुख अतिथि तेजेन्द्रबहादुर खड्काले कार्यक्रममा आफ्नो भनाइ राख्दै सहकारीमा सुशासन र भाखा नाघेको ऋणको व्यवस्थापनको आवश्यकता औंल्याए । उनले भने – `सहकारी क्षेत्रले देशको आर्थिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सहकारी संस्थाहरूले पारदर्शीता र उत्तरदायित्वका साथ काम गर्न आवश्यक छ, जसले गर्दा संस्थामा सुशासन कायम रहन सक्छ । भाखा नाघेको ऋण व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक छ, किनभने यसले सहकारीको वित्तीय स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउँछ ।´ खड्काले क्लबलाई बधाई र शुभकामना दिँदै सहकारी म्यानेजर्सको योगदानलाई प्रशंसा गरे ।
उक्त कार्यक्रममा नेफ्स्कून क्षेत्रीय कार्यालय नारायणगढका यमकला सुवेदी, राष्ट्रिय सहकारी बैंक नारायणगढका शाखा प्रमुख रामशरण सापकोटा र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी व्यवस्थापक अनिता न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष मेघनाथ लामिछानेले क्लबको स्थापना, उद्देश्य र भविष्यका योजनाबारे जानकारी गराए । `कोअपरेटिभ म्यानेजर्स क्लबको स्थापनाले सहकारी म्यानेजर्सबीच आपसी सहयोग र समन्वयलाई प्रोत्साहित गरेको छ । आगामी दिनमा हामी सहकारीको सशक्तिकरण र विकासका लागि थप कार्यहरू गर्दै जानेछौं´, उनले भने ।
उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले स्वागत मन्तव्यमा क्लबले एक वर्षमा गरेका गतिविधिहरूको चर्चा गर्दै क्लबका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे । उनले भने – `हाम्रो क्लबले सहकारी क्षेत्रमा नयाँ सोच र दृष्टिकोण प्रस्तुत गर्दै आएको छ र यो वार्षिकोत्सव त्यसको प्रतिबिम्ब हो ।´
कार्यक्रममा सहभागीहरूले सहकारी क्षेत्रको विकासका लागि सहकार्य र एकता आवश्यक रहेको निष्कर्षमा पुगेको सचिव दीपक गौतमले बताए । यस कार्यक्रमले सहकारी क्षेत्रको महत्वलाई उजागर गर्दै यसका म्यानेजर्सलाई थप ऊर्जा र उत्साह प्रदान गरेको उनले दाबी गरे ।