गैँडाकोट, २५ साउन ।
पठन संस्कृति अभियानको पाँचौँ शृङ्खलामा सहभागी हुन राजनीतिज्ञ डा. मिनेन्द्र रिजाल गैँडाकोट आएका छन् । शनिबार बिहान ११ बजे विजय विकास स्रोत केन्द्रको चेतना सदनमा हुने कार्यक्रममा सहभागी हुन डा. रिजाल गैंडाकोट आएका हुन् । कार्यक्रममा रिजाल प्रमुख आतिथि रहनेछन् ।
सामुदायिक रेडियो विजय एफएम १०१.६ मेगाहर्जको आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्धत पुर्याउने सापकोटाको विश्वास रहेको छ ।
गैंडाकोटमा गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियानको सुरु भएको थियो । डा. मिनेन्द्र रिजाल नेपाली काँग्रेसका नेता हुन् । डा. रिजाललाई नेपाली राजनीतिक क्षेत्रमा तर्कशील, बौद्धिक र समालोचना गर्नसक्ने व्यक्तिका रुपमा चिनिन्छ । डा. रिजालले माधवकुमार नेपालको मन्त्रीमण्डलमा संस्कृति मन्त्री र सुशील कोइरालाको मन्त्रीपरिषद्मा सूचना तथा सञ्चार मन्त्रीको रुपमा काम गरेका छन् । डा. रिजालले अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । पठन संस्कृति अभियानको पाँचौँ शृङ्खलामा पनि अघिल्ला शृङ्खलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिए । कार्यक्रम बिहान ११ बजेबाट विजय विकास स्रोत केन्द्रको सभाहलमा सुरु हुनेछ ।