चितवन, २४ साउन ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । बिहीबार एक्सपर्ट बेस क्याम्प भरतपुरमा विभिन्न विधाको पुरस्कार वितरणको साथै केक काटेर वार्षिकोत्सव मनाएको हो ।
एक्सपर्टले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय÷कलेज फुटसल फेस्टाका विजेता, उपविजेता, सेमीफाइनलमा पुगेका २ टिम, भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट लिगको समयमा गरिएको फोटो प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रमका सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।
अन्तरविद्यालय÷कलेज फुटसलमा एपेक्स एकेडेमी भरतपुर प्रथम भएको थियो भने नारायणी नमुना मावि दोस्रो स्थानमा चित्त बुझाएको थियो । विजेता तथा उपविजेतालाई नगद ३० हजार, २० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको हो । यस्तै सेमीफाइनल पुगेका दुई टिमलाई ७÷७ हजार नगद प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भएका एपेक्सका विश्वास गुरुङलाई समेत नगदसहित सम्मान गरिएको छ ।
यसैगरी फोटो प्रतियोगितामा विजेता बनेका नारायणी नमुना माविका उमेश महतोलाई नेपालका पूर्व क्रिकेट टिमका कप्तान एवं नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हस्ताक्षरसहितको ब्याट प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारी, हिसानका केन्द्रीय सदस्य भुपेन्द्र धिताल, एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
प्रमुख अतिथि अधिकारीले एक्सपर्टले व्यवसाय मात्र नभई सेवा समेत गरिरहेको भन्दै प्रशंसा गरे । उनले विदेश जान विद्यार्थीहरुलाई रोक्न नसक्नु सबै तहका सरकारकै कमजोरी रहेको भन्दै सकेसम्म युवाहरुलाई स्वदेशमै राख्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको स्थापना भएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।
भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाललगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
रत्ननगरमा रक्तदान
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत खुल्ला रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन गरिएको छ ।
एक्सपर्ट रत्ननगर कार्यालय परिसर बकुलहरचोकमा बिहीबार बिहान गरिएको रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन गरिएको एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनाले जानकारी दिइन् । उनका अनुसार महिला रक्तदाताहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमका संयोजक लक्ष्मण शर्माले सबैको साथसहयोगले २२५ पिन्ट रगत संकलन गर्न सफल भएको बताए । उनले रक्तसंचार केन्द्र भरतपुर शाखालाई समन्वयका लागि धन्यवाद ज्ञापन गरे ।
रक्तदान कार्यक्रमको रत्ननगर नगरपालिकाका नगर–प्रमुख प्रलाद सापकोटाले एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।
सो क्रममा बोल्दै नगर प्रमुख सापकोटाले निजी क्षेत्रबाट रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथबाट अगाडि बढाउनु सकरात्मक पक्ष भएको बताए । उनले समाजमा एक्सपर्टले निकै सकरात्मक कामहरु गरेको आफू जानकार रहेको भन्दै विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरुलाई विद्यालयसम्म जाने वातावरणमा पनि एक्सपर्टले साथ दिनुपर्नेमा जोड दिए ।
एक्सपर्टले गत वर्ष पनि रत्ननगरमा वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको थियो । गत वर्ष निजी क्षेत्रबाट सर्वाधिक धेरै रगत संकलन गरेर एक्सपर्टले पुरस्कार समेत पाएको थियो । यस वर्ष भने गत वर्षको रेकर्ड नै तोडिएको छ ।
एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वृद्धवृद्धालाई भोजन र लत्ताकपडा
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा बुधबार देवघाटमा आश्रित वृद्धवृद्धाहरुलाई साँझको भोजन ग्रहण गराइएको छ ।
तनहुँको देवघाटस्थित देवघाट क्षेत्र विकास समितिद्वारा संचालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित असाहय वृद्धवृद्धाहरुलाई एक्सपर्टले भोजन ग्रहण गराउनुको साथै फलफूल र लत्ताकपडा वितरण गरेको छ । एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्याल, प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलगायतले वृद्धृवद्धाहरुलाई फलफूल तथा लत्ताकपडा वितरण गरेका थिए ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले २२औं वर्षमा प्रवेशको पूर्वसन्ध्यामा आमाबुबाबाट आशीर्वाद लिँदै भोजन ग्रहण, फलफूल र लत्ताकपडा वितरण गरिएको बताए । उनले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा असहाय वृद्धवृद्धालाई ध्यानमा राखेर यो कार्यक्रम गर्दै आइरहेको बताए ।
एक्सपर्ट चितवनका अध्यक्ष घननाथ अर्यालले वृद्धवृद्धालाई सेवा गर्ने सबै हातलाई धन्यवाद दिए । उनले संस्थाको तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले दाताहरुकै सहयोगबाट आश्रम संचालन भइरहेको बताए । उनले हेर्ने मान्छे नभएर या अन्य समस्याले एक्लो भएका वृद्धवृद्धालाई नभई विल्कुलै असाहय वृद्धवृद्धालाई मात्रै राख्ने गरिएको बताए ।
एक्सपर्टले वार्षिकोत्सवको अवसरमा मंगलबार एक्सपर्ट बेस क्याम्पमा निःशुल्क आँखा परीक्षण शिविर गरेको थियो । त्यस्तै अन्तर स्कुल/कलेज एक्सपर्ट फुटसल फेस्टा कार्यक्रम समेत सम्पन्न भइसकेको छ ।