बिबिसी नेपाली अनलाइनबाट ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम ८४ वर्षीय प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको थियो । उनले देशका राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् ।
उनको मन्त्रिपरिषद्मा १६ जना सदस्यहरू हुनेछन् । त्यसमध्ये ढाकाबाहिर रहेका बाहेकको शपथग्रहण गराइएको थियो ।
सेनाको समर्थनमा अस्थायी रूपमा सत्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका उनको काँधमा देशमा स्थिरता कायम गर्ने चुनौती छ ।
ग्रामीण लघुकर्जामार्फत् गरिबहरूको जीवनस्तर उकास्न भूमिका खेलेकोमा संसारले प्रशंसा गरेका यी अर्थशास्त्रीलाई विगतको निरङ्कुश सरकारले राजनीतिक शत्रु करार गरेको थियो ।
युनुस बिहीवार नै स्वदेश फर्किएका थिए र लगत्तै उनले “गर्नुपर्ने काम धेरै भएको” टिप्पणी गरेका थिए ।
“जनताहरू उत्साहित छन्,” फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि युनुसले बीबीसीसँग भनेका थिए ।
यसैबीच बाङ्ग्लादेशको सेनाले एउटा सर्कुलरमार्फत आफ्नो सहयोगमा देशभरका सबै प्रहरी चौकीका गतिविधिहरू आगामी २४ घण्टामा सुरु हुने बताएको छ ।
सेनाका प्रमुखसहित नवनियुक्त प्रहरी महानिरीक्षक र अन्य सुरक्षा अधिकारीहरूको बैठकपछि अराजकता, आगजनी, ध्वंस र विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चालिने निर्णय भएको जनाइएको छ ।
सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थीहरूको असन्तुष्टिले हिंसक आन्दोलनको रूप लिएपछि निरन्तर १५ वर्ष सत्तामा बसेकी हसिना पदत्याग गर्दै विदेश पलायन भइन् ।
गत ज्यानुअरीमा भएको निर्वाचनपछि गठित संसद्बाट हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेकी थिइन् । शेख हसिनाको सत्ता ढलेपछि बाङ्ग्लादेशमा राजनीतिक शून्यता उत्पन्न भएको थियो ।
यद्यपि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए । राष्ट्रपतिले संसद् पनि विघटन गरे ।
हसिना अहिले भारतमा छिन् ।
राष्ट्रपति मोहम्मद शाहबुद्दिन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो । विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए ।
युनुसको नेतृत्वमा बाङ्ग्लादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्किने अपेक्षा गरिएको छ ।