मकवानपुर, २४ साउन ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले विकट क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने बताएका छन् । सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अनुदान मार्फत् निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बिहीबार मन्त्री थापाले उक्त कुरा बताएका हुन् ।
‘नागरिकहरुको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न चुनौति रहेको छ’ उनले भने ‘तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउनु गम्भीर हुनुपर्छ ।’ उनले आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु नीति कार्यक्रम र योजना निर्धारण गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताए ।
सरकारका कमजोरीका कारण नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने अवस्था रहेकाेले पिछडिएका वर्गलाई समेत स्वास्थ्य सेवाको मुलधारमा ल्याउन पहल गरिने उनले बताए । ‘प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरुको भण्डारणमा समेत समस्या हुँदै आएको थियाे’ उनले भने ‘नयाँ भवन प्राप्त भएसँगै भण्डारणका कारण औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा समस्या भोग्नु परेको अवस्था अन्त्य भएको छ ।’
अन्तर्राष्ट्रिय दातृ संस्था सेभ द चिल्ड्रेनद्वारा ३ करोड २८ करोडको लागतमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवन बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बिहीबार हेटौंडामा सेभ द चिल्ड्रेन नेपालकी निर्देशक तारा क्षेत्रीले औपचारिक रुपमा भवन प्रदेश सरकारलाई हस्तान्तरण गरेकी हुन् । राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताइन् । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरुप सो भवन निर्माण गरिएको उनले जानकारी दिइन् ।
क्षयरोग,औलो,एचआईभी सम्बन्धी स्वास्थ्य सेवाहरु र औषधीहरु प्रभावित नागरिकको पहुँचमा पुर्याउन तथा अस्पताल र फार्मेसीहरुबीचको समन्वयमा भवन महत्वपूर्ण हुने उनले बताइन् ।
४७० वर्ग मिटर क्षेत्रफलमा निर्माण भएकाे भवन अपांगता–मैत्री, सीसीटीभी क्यामरा निगरानी, फायर अलार्म प्रणालीयुक्त र चौबिसै घण्टा सौर्य उर्जा व्याकअप प्रणाली जडित भवन ३ महिनामा नै निर्माण सम्पन्न गरिएको हो । सेभ द चिल्ड्रेन नेपालका अनुसार २०८० चैत ४ मा निर्माण सुरु गरिएको उक्त भवनको निर्माण सम्पन्न गर्न ३ महिना समय लागेको हो । हाइटेक डेभलपर्स भरतपुरले ठेक्का सम्झौता गरेको ३ महिना निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरेको हो ।