मकवानपुर, २३ साउन ।
हेटौँडामा बसी अनलाईनमार्फत ठगी कारोबार गर्ने ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेकाे छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथ स्थित प्रमोद वाग्लेको घरमा फ्ल्याट भाडामा लिई मेडिअसिष्ट नामको कम्पनी देखाई अनलाईनमार्फत ठगीको कारोवार गर्ने गरेकाे सूचनाकाे आधारमा उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी भारत जिल्ला पटना थाना आलमगंज वडा नम्बर ५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत १/१ बि मार्केट स्वाग विरसा स्वाग कोल्लिएरी, बोकरो झारखण्ड–८२९१२८ बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार–८०४४१९ बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्धानी नैनिताल उत्ताराखण्ड-२६३१३९ बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड डिएबि पब्लिक स्कुल नजिकै, सुन्दर नगर, हेहल, राचि झारखण्ड – ८३४००५ बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड–८३४००१ बस्ने ३८ वर्षीय लोकेश कुमार दुवेलाई सार्वजनिक गरेकाे हाे ।
यसैगरी भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड–८३४००१ बस्ने २९ वर्षीय विकास कुमार सिंह, भारत डि/३/३७ बि कुंवर सिंह नगर, नांगलोड वेस्टी देल्ही–११००४१ बस्ने २८ वर्षीय अरुण कुमार, भारत एक १ प्लाट नं. ५३ मिडिया एन्वलेव सेक्टर ६ बैशाली गजियावाद उत्तर प्रदेश–२०१०१० बस्ने ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएकाे हाे ।
उनीहरुलाई २१ साउनमा सूचना प्राप्त भएपछि प्रहरीले पक्राउ गरिएकाे मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए ।
१० फागुन २०८० मा हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिनकुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चालन गर्दै आएको प्रहरीले जनाएकाे छ । प्रहरीले उक्त मितिमै आन्तरिक राजश्व कार्यालय हेटौँडाबाट मेडि असिष्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्य सम्बन्धी अन्य क्रियाकलापहरु सेवा प्रदान गर्ने गरी पानमा दर्ता गरिएको जानकारी दिएकाे छ । कम्पनीमा १२ जना व्यक्तीहरु (भारतिय नागरिकहरु मात्र) कार्यरत रहेकोमा ३ जना (द्रबिन कुमार सिंह, रजत शर्मा र प्रकाश) फरार छन् ।
प्रहरीका अनुसार उक्त कम्पनीमा कार्यरत व्यक्तीहरूले तलब बापत नगदै रकम (भारतीय रुपैयाँ १८ देखि ५० हजार सम्म) लिने गरेको तर उक्त भुक्तानीको कुनै पनि अभिलेख नभएको, कुनै पनि आर्थिक कारोबार कानून बमोजिम नगरिएको साथै अभिलेखिकरण पनि नभएको पाइएकाे छ । भारतको राँची स्थित हेड अफिसमा मेन सरभर राखि Quick Call Client Software मार्फत काम गर्ने गरिएको साेही सफ्टवेयरबाट मार्फत टार्गेट पहिचान गरी सोही सफ्टवेयरबाट टार्गेटसँग सम्पर्क गरी सम्पूर्ण डिटेल सोही सफ्टवेयर मार्फत भारत ट्रान्सफर गर्ने गरिएको पाइएकाे प्रहरीले जनाएकाे छ । उक्त कम्पनीले नेपाली तथा विभिन्न देशका व्यक्तीहरुलाई टार्गेट बनाउने गरिएको पाइएकाे छ । उक्त कम्पनीबाट हुने गरेको कुनै पनि काम कारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सरभरमा राख्ने गरेको, अधिकांश रातको समयमा मात्र काम गर्ने गरिएको तथा जुन उदेश्यले कम्पनी दर्ता गरिएको सो अनुसारको कुनै पनि कार्यहरु अहिलेसम्म पनि नगरिएको प्रमुख रिजालले जानकारी दिए ।
पक्राउ गरिएका व्यक्तिले कम्पनीमा प्रयोग गर्ने गरेकाे भिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोबाईल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान समेत बरामद गरिएकाे पत्रकार सम्मेलनमा प्रदर्शन समेत गरिएकाे थियाे ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१) बिपरित (२) बमोजिम कसुर अपराध गरेको हुँदा निज प्रतिबादीहरुलाई सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय हुने प्रहरी प्रमुख सीताराम रिजालले बताए ।