भरतपुर, २२ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर ८ र ९ मा रहेको वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले सोमबार २९ औँ स्थापना दिवस मनाएको छ । २०५२ सालमा स्थापना भइ भरतपुर महानगरपालिकाको दुईवटा वडा ८ र ९ नम्बरका स्थानीय बासिन्दाहरुलाई प्रत्यक्ष रुपमा फाइदा पुर्याउन समूहको स्थापना भएको अवसरमा स्थापना दिवस मनाइएको समूहले जनाएको छ ।
कार्यक्रमको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बहुवर्षीय रुख कटहरको बिरुवा रोपेर उद्वघाटन गरेका थिए । उद्वघाटन समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले वन र बन्यजन्तुको संरक्षण आजको टड्कारो आवश्यकता भएको उल्लेख गरे । उनले भरतपुर महानगरभित्र रहेका सामुदायिक वनहरुले संरक्षणको क्षेत्रमा कुनै पनि कन्जुस्याइँ नराखी आफू र संस्था भन्दा माथि उठेर काम गर्नुपर्ने धारण व्यक्त गरे ।
समूहका उपाध्यक्ष रामचन्द्र पोखेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठले सामुदायिक वनको चुनौती र अवस्थाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा भरतपुर- ८ का वडा अध्यक्ष जीवनाथ कँडेल, ९ का वडा अध्यक्ष यमलाल कँडेल, वनका संस्थापक अध्यक्ष पूर्णबहादुर रानाभाटले समुदायमा सामुदायिक वनहरुले खेलेको भूमिका र महत्त्वका बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा यसअघि सम्पन्न भएको हाजिरीजवाफ प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियोे ।