भरतपुर, २२ साउन ।
प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थाले तेस्रो स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाएको छ । संस्थाले शुक्रबार तेस्रो स्थापना दिवसको अवसर पारेर एसएमएस प्रणालीको पनि शुभारम्भ गरेको छ । एसएमएस प्रणालीको भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले एक कार्यक्रमका बिच सिस्टमलाई क्लिक गरेर शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि पन्तले सहकारीहरु प्रतिको नकारात्मक सन्देशलाई चिर्न सक्नेगरी जनताको विश्वास जितेर काम गर्न प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्थालाई शुभकामना दिए । `बढ्दो सहकारीहरुको नकारात्मक प्रभावलाई सकारात्मक बनाउनेगरी सदस्यहरुलाई सेवा पुर्याउन आवश्यक छ´, उनले भने – `तब मात्र सहकारी प्रतिको जनताको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।´ अध्यक्ष पन्तले सहकारीमा एकरूपता कायम गर्दै सहकारी शिक्षा, प्रशिक्षण र जागरणलाई समन्वयात्मक रूपमा एकीकृत ढंगले अगाडि बढाउनु आजको आवश्यकता रहेको समेत प्रष्ट पारे ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा रक्तदान कार्यक्रम, बृद्ध बृद्वाहरुलाइ विभिन्न आश्रम गएर खाना खुवाउने कार्यक्रम, सडक सरसफाइ कार्यक्रम, छात्रवृत्ति कार्यक्रम जस्ता विविध कार्यक्रमहरु गरेर संस्थालाइ सामाजिक कार्यमा निरन्तर अगाडि बढाइरहेको छ । उक्त संस्था चितवनबाट बिदेश गएर लामो समय काम गरेर फर्केकाहरुले सन्चालन गरेको विशुद्व सामाजिक संस्था हो । संस्थाका व्यवस्थापक दुर्लभबन्धु पोख्रेलले सन्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।