भरतपुर, २१ साउन ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी देश छोडेर ‘सुरक्षित ठाउँ’ गएका छन् । बीबीसी बंगला सेवाले यसको पुष्टि गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत पुगेको जनाएको छ । बंगलादेशमा हिंसात्मक द्वन्द्व बढेपछि हसिना हेलिकोप्टरमार्फत भारत लागेकी हुन् ।
बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागमा अडिग छन् ।
हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।
यसमा सरकारको कर तिर्न जनतालाई अपिल गरिएको थियो ।
बंगलादेशका सेना प्रमुख जनरल वकारले देशमा अन्तरिम सरकार गठन हुने बताएका छन् । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाले पद त्यागेर भारत लागेपछि सेना प्रमुखले यस्तो बताएका हुन् । सेना प्रमुखले राष्ट्रका नाममा आज सम्बोधन गर्ने तयारी थियो तर अहिलेसम्म सम्बोधन भने भएको छैन ।