भरतपुर, २० साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरस्थित फोर्ब्स कलेजमा आइतबार स्टेट व्याङ्क्वेट तथा अतिथि सत्कारको नमुना अभ्यास गरिएको छ ।
व्यवहारिक शिक्षामार्फत शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउने उद्देश्यले विद्यार्थीहरुलाई नमुना अध्यास गराइएको कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिए ।
हरेक वर्ष बिएचएम सङ्कायका छैटौँ सेमेष्टरका विद्यार्थीहरुका लागि अतिथि सत्कारको नमुना अभ्यास गराउँदै आइएको प्रिन्सिपल पाठकले बताए ।
सो कलेजले होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि एक देशको राष्ट्रप्रमुख अर्को देशको राष्ट्रप्रमुखसँग भेट्दा आयोजना गरिने उच्चस्तरीय भोज तथा अतिथि सत्कारको नमुना अभ्यास गराएको हो । कलेज व्यवस्थापनको समन्वयमा बिएचएम सङ्कायका छैटौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले नमुना अभ्यासको आयोजना गरेका थिए ।
उक्त कार्यक्रममा सोही सङ्कायका चौथो सेमेष्टरका विद्यार्थीले उपस्थित अतिथि र सहभागीका लागि परिकारहरु प्रदान गरेका थिए । दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले भान्छा व्यवस्थापनको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट विभागका प्रमुख योगेन्द्र मण्डलले सहजीकरण गरेका थिए ।
कलेजका प्रबन्ध निर्देशक राजकुमार दाहाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्राध्यापक ई.दिवस मैनाली विशिष्ट अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल पाठक सहित सुवास अधिकारी, देवी कार्की, राजेन्द्र सापकोटा, शिरिष गौतम, केशव न्यौपाने, राजेन्द्र पौडेल, राजन धिताल, ई.राज सापकोटालगायत अतिथि थिए ।
कार्यक्रममा विद्यार्थीहरुले पोट्याटो चिजबल, क्रीम अफ मसरुप सुप, चिकन स्ट्रागनफ विथ प्लेन राईस/रिसोटो राईस, डेजर्ट निकरबकर ग्लरी अन्तर्गतका परिकारहरुको सेवा प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै ई.दिवस मैनालीले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीका लागि गरिने व्यवहारिक क्रियाकलापले सो क्षेत्रमा लागेर भविष्य उज्जवल बनाउन चाहेका विद्यार्थीले देश तथा विदेशका उच्चस्तरीय कार्यक्रममा आफ्नो कला र सीप देखाउन सक्षम रहने बताए ।
नमुना अभ्यासले विद्यार्थीहरुमा ईभेन्ट म्यानेजमेन्ट ईलाईट सर्भिस (उच्चस्तरीय सेवा), टिमवर्क, सहकार्य, बजेट व्यवस्थापन लगायतको सीप विकासमा टेवा पुग्ने कलेज प्रमुख हरिशरण पाठकले बताए ।
कार्यक्रम अवधिभर सोही कलेजमा बिएचएम दोस्रो संकायमा अध्ययनरत रोनिस श्रेष्ठ र चौथो सेमेष्टरमा अध्ययनरत सुमन मग्रातीले सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा बिएचएम छैटौँ सेमेष्टरमा अध्ययनरत ७ जना विद्यार्थी, दोस्रो सङ्कायमा अध्ययनरत १० जना विद्यार्थी र चौथो सेमेष्टरमा अध्ययनरत १२ जना विद्यार्थी सहभागी भएका थिए । कलेजमा अनुभवि र तालिम प्राप्त प्रध्यापकहरुले विद्यार्थीहरुलाई होटल म्यानेजमेण्ट र सूचना प्रविधि विषयमा अध्यापन गराइँदै आइएको छ । सो कलेजले आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको छ ।
कलेजले डेढ दर्जन सुचकहरु पूरा गर्दै सो मान्यता प्राप्त गर्न सफल भएको हो । वि.स.२०७४ सालमा स्थापना भएको सो कलेजमा व्याचलर अफ होटर म्यानेजमेन्ट र व्याचलर अफ कम्प्युटर साइन्स, साइबर सेक्युरिटीलगायतका विषय अध्यापन हुँदै आएको छ ।