मकवानपुर, १९ साउन ।
मकवानपुरको हेटौंडामा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।
`आफू बचौँ र अरुलाई पनि बचाऔँ´ भन्ने नाराका साथ हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामाडेङ्गुविरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको हो ।
हेटौंडा ४ नम्बर वडाले सरोकारवाला निकायको संयुक्त प्रयासमा हेटौंडामा शुक्रबारस चेतनामूलक र्याली सहित अभियान सुरु गरेको हो । स्वास्थ केन्द्र, रेडक्रस, महिला समूह, विद्यार्थी, शिक्षक, क्याम्पसका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र प्रतिनिधिसहित सचेतनामूलक र्याली हेटौँडाको पारिजातपथ, कर्रा, गर्दोइ हुँदै हुप्रचौर सम्म सचेतना र्याली गरिएको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
मकवानपुरको हेटौंडामा आवमा पनि डेङ्गुबाट प्रभावित र उच्च जोखीममा परेको स्मरण गराउँदै अहिले सुरुवातदेखि नै वडावासीलाई माइकिङसहित सुरक्षित हुन आव्हान गरिएको वडा अध्यक्ष सिग्देलले बताए । मकवानपुरमा चालु आर्थिक वर्षको १ साउनदेखि १८ गते शुक्रबारसम्म २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ पुरुष र १८ महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । यहाँ पुरुष ७ र महिला १६ सहित २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।
डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । बर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फूल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा यसले फूल पार्ने गर्दछ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरू देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् ।
गत आर्थिक वर्ष २०८०–८१ मा मकवानपुरमा ८९१ जना डेँगुबाट प्रभावित भएका थिए भने डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको थियो ।