माडी, १९ साउन ।
भरतपुर महानगरपालिका-८ बाइसबिगाहा निवासी कृष्णप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीहरूलाई विद्यालय पोशाक र मुना, युवामञ्च पत्रिका उपलब्ध गराएका छन् ।
भरतपुर-७ बुद्धचोकमा रहेको कृति फोटो स्टुडियोका सञ्चालक न्यौपानेले माडी नगरपालिका-४ मा रहेको श्री खैरहनी माध्यमिक विद्यालयका कक्षा १ देखि ८ सम्मका १/१ जना गरी ८ जना जेहेन्दार छात्रलाई विद्यालय पोशाक उपलब्ध गराएका हुन् । त्यसैगरी कक्षा १ देखि १० सम्मका करिब ३०० जना विद्यार्थीलाई बालपत्रिका मुना र युवामञ्च उपलब्ध गराएका छन् ।
त्यसैगरी माडी नगरपालिका-१ स्थित सोमेश्वर माविका करिब १०० विद्यार्थीलाई न्यौपानेले मुना बालपत्रिका उपलब्ध गराएका छन् । माडीमा जन्मिएका न्यौपाने श्री खैरहनी माविमा अध्ययन गरेका थिए । आफ्नो जन्मदिन विशेषगरी विद्यार्थीको साथमा बसेर मनाउने गरेका न्यौपानेले अघिल्ला जन्मदिनमा पनि विद्यार्थीलाई साइकल एवम् शैक्षिक सामग्री प्रदान गर्दै आइरहेका थिए ।
शुक्रबार आमा श्यामकला र श्रीमती जमुनासँगै माडी पुगेका उनले जन्मदिनमा केही रचनात्मक र परोपकारी काम गर्नुपर्छ भन्ने सोच अनुरुप विद्यार्थीलाई सहयोग गरेको बताए । खैरहनी माविका प्रधानाध्यापक कुलानन्द भुसालले जन्मदिनलाई यसरी मनाउनु सन्देशमुलक भएको बताए । `तडकभडक किसिमले मनाउने परिपाटी बनिसकेको अवस्थामा रचनात्मक र सहयोगी भावनाले कृष्णजी आफ्नो विद्यालयमा आएर सहयोग गर्नुभएकोमा खुसी लागेको छ, यसको सिको नयाँ पुस्ताले गर्नु आजको आवश्यकता हो । हामीले विद्यार्थीलाई पनि यस्तै काम गर्न प्रेरित गर्नेछौँ´, प्रधानाध्यापक भुसालले भने ।
श्री सोमेश्वर माविका प्रधानाध्यापक इन्दिरा तिवारीले आफ्नो विद्यालयमा आएर विद्यार्थीलाई पठनीय र उपयोगी पत्रिका मुना उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै कृष्ण न्यौपानेलाई जन्मदिनको शुभकामना व्यक्त गरिन् । शिक्षक विपिन पाठकले अहिलेको पुस्ताले जन्मदिन मनाउने क्रममा रचनात्मक काम गर्नु राम्रो पक्ष भएको बताए । `भड्किलो किसिमले अनावश्यक खर्च गरेर तडकभडक गर्नु राम्रो होइन । केक काटेर जन्मदिन मनाउने संस्कृति पनि हाम्रो होइन´ पाठकले भने – `जन्मदिनमा परोपकारी ढंगले सामाजिक कर्ममा सरिक भएर मनाउनु निकै अर्थपूर्ण छ । जन्मदिनमा वृक्षरोपण, सरसफाइ, आश्रममा सहयोग गर्नु जस्ता महत्त्वपूर्ण काम नयाँ पुस्तालाई सिकाउनु जरुरी छ ।´