देवचुली, १९ साउन ।
श्री दिव्यज्योति आधारभूत विद्यालयले शैक्षिक शत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । सोही अवसरमा विद्यार्थीको शैक्षिक विकासका लागि स्थापना गरिएको अक्षयकोष पनि विद्यालय परिवारलाई हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा भरतपुर निवासी डा. केशवराज भुर्तेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायणदत्त भुर्तेल विशेष अतिथि रहेका थिए । देवचुली नगरपालिका वडा नम्बर १२ का शैक्षिक तथा सामाजिक व्यक्तित्व रामप्रसाद भुर्तेल तथा ॠषि भुर्तेल अतिथि रहेका थिए ।
प्रथम त्रैमासिक परीक्षाको परिक्षाफल प्रकाशन तथा पुरस्कार वितरणको अवसर पारेर विद्यालय स्थापनादेखि हालसम्म विद्यालयको शैक्षिक उन्नयनका लागि अनवरत आर्थिक र भौतिक सहयोग गरेका डा. केशवराज भुर्तेलले वर्तमान अवस्थामा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अवस्थालाई मध्यनजर गर्दै विपन्न र जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकास र छात्रवृत्तिमा सहायता होस् भन्ने उदेश्यसहित २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
स्वर्गीय पिता दिनानाथ भुर्तेल र स्वर्गीय माता बसुन्धरा भुर्तेलको स्मृतिमा स्थापित उक्त अक्षयकोष भुर्तेल परिवारका छोराहरु डाक्टर केशवराज भुर्तेल, नारायणदत्त भुर्तेल, ईन्जिनियर हुमकान्त भुर्तेल तथा डा. डिल्लिराम भुर्तेल संरक्षक रहनेगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पौडेल तथा प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।