भरतपुर, १८ साउन ।
युवा रेडक्रस सर्कल सिएमसीको वार्षिक क्यालेण्डर अनुसार युवा रेडक्रस सर्कल सिएमसी र चितवन मेडिकल कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जसमा एक सय १० पिन्ट रगत संकलन भएको छ ।
युवा रेडक्रस सर्कल सिएमसी र चितवन मेडिकल कलेजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा भरतपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो ।
कार्यक्रममा युवा रेडक्रस सर्कल सिएमसीकी अध्यक्ष नाजनिन प्रविन सभापति र प्रमुख अतिथि चितवन मेडिकल कलेज शैक्षिक निर्देशक प्रोफेसर डा. गोपेन्द्रप्रसाद देवले कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा कलेज प्रधानाध्यापक प्रोफेसर डा. ममता तिवारीले शुभकामना मन्तव्य राखेकी थिइन् भने कलेज अफ नर्सिङ उपप्रध्यापक प्रोफेसर सुमिना बज्राचार्य, कलेज प्रशासन प्रमुख बिप्लव अधिकारी विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक प्रतिनिधि रामकृष्ण पौडेलले गरेका थिए ।