स्पेन, १८ साउन ।
नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउन स्पेनमा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन गरिएको छ । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बरिष्ठ लोक गायक विष्णु खत्रीको विशेष उपस्थितिमा विदेश समन्वय परिषद स्पेनको तदर्थ समिति बनाइएको हो ।
कोष्टाव्लाङ्कामा रहेका केशरबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति बनेको हो । उपाध्यक्षमा स्मृति गौतम, प्रविन गुरुङ, सचिव विप्लव काफ्ले, सहसचिव असिम लोप्चन, कोषाध्यक्ष रुद्र आचार्य, सहकोषाध्यक्ष सेजल कँडेल चयन भएका छन् ।
सदस्यहरुमा सोनल पुन, उजेला थापा, माधव न्यौपाने, प्रेम किसान चयन भएका छन्। तदर्थ समितिलाई छिटै १७ सदस्यीय बनाइनेे जनाइएको छ ।
लोक गायक तथा सर्जक विष्णु खत्रीले नेपाली मौलिक भाका, संस्कृति जगेर्ना गर्ने अभियानमा परदेशमा रहेका नेपालीहरुलाई गोलबद्ध गर्ने कार्य तीव्र पारिएको बताए । ´नेपाली पहिचान देशभित्र मात्रै सिमित बन्नु हुदैन, नेपाली पहिचान, संस्कृति अध्ययन गर्ने संयन्त्रको खाँचो छ`, उनले भने, ´परिषद विश्वभर फैलिदा नेपाली मौलिकता, संस्कृति पनि प्रवर्द्धन हुनेछ ।` विश्वभर छरिएका नेपालीले नेपाल चिनाउने सेतुका रुपमा परिषद मार्फत योगदान गर्न सक्ने बताए । नेपाली असल अभ्यास, मौलिक खाना, भाका, चाडपर्व सबै विश्व समुदाय माझ पुर्याउदा नेपाल र नेपाली दुवैको हित हुने टिप्पणी गरे ।
नेपालका संस्कृति, रहनसहनबारे अध्ययन गर्न सहजताका लागि विधागत प्रकाशन, दस्तावेजीकरण, तथ्यांक, अभिलेख संकलनका कामहरु पनि हुने बताए । ´नाचगान मात्रै होइन, नेपाल देखाउने ऐना बनाउन लागेका छौँ`, उनले भने, ´लोकदोहोरीका सबै विधाबारे खोज अनुसन्धान पनि हुनेछ, संस्कृतिबारे पनि दस्तावेज बनाएर विश्वव्यापीकरण गर्ने सोचमा छौँ ।`
नेपालका ७७ जिल्ला, ७ वटै प्रदेश मार्फत अध्ययन-अनुसन्धान सुरु गर्ने तयारीमा रहेको जानकारी दिए । युरोप यात्रामा रहेका खत्रीले नेपाली संस्कृति जगेर्ना गर्न प्रवासीहरुमा हुटहुटी देखिएको बताए । नवगठित स्पेन समितिका अध्यक्ष केशर बहादुर थापाले नेपाल चिनाउने गरि परिषद गठन भएकोमा खुशी व्यक्त गरे । ´नेपाली नाचगान, भेषभुषा देखाउदै कार्यक्रम भैरहेका छन्, अब नेपाली असल अभ्यासबारेका कामहरु सुरु हुनेछन्`, उनले भने, ´नेपाली चाडपर्व, मौलिक खानाको प्रवर्द्धन गर्ने थप कामहरु हुनेछन् ।` तदर्थ समितिले छिटै अधिवेशन गरेर स्पेनमा रहेका बौद्धिक, संस्कृतिविद्, इतिहासका जानकारहरुलाई एक्यवद्ध पार्ने बताए ।
उनले दूतावाससँग पनि सहकार्य गरेर लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, संस्कृतिको खोज अनुसन्धान गरिने बताए ।