स्पेन, १८ साउन ।
लोक गायक विष्णु खत्रीले स्पेनको बार्सिलोनामा धमाका मच्चाएका छन् । बार्सिलोनास्थित गान्धी क्याम्प नौ रेष्टुरेन्ट एण्ड बारमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना गरेको ´रमाइलो सांगीतिक कार्यक्रम` मा खत्रीले पञ्चैबाजा, सालैजोको याद दिलाएका छन् । प्रवासी नेपालीहरु छमछमी नाचेका थिए ।
´जिन्दगानी कर्कलो पानी हो, हेर्दाहेर्दै ढल्केरै जानी हो` भन्दै माहोल तताएका थिए । गायक खत्रीले ३ घण्टा बढी गीत गाए । उनका नयाँ पुराना गीत गुनगुनाउदै दर्शकहरु रमाइरहेका थिए । ´कहिले होला भेट भन्दै गए धेरै वर्ष, धेरै पछि भैयो भेट मनमा लाछ हर्ष´ भन्दै लाहुरेको कहानी समेटिएको लाहुरदाई छुट्टीमा आको गीतमा हुटिङ बढेको थियो । परदेशी, प्रेमीका कथा, गाउँ भीरपाखा सम्झाउँदै गायक खत्रीले गीत गाइरहेका थिए ।
मिहेनति भरिया दाइको दु:ख पनि पोखे । ´डाडैनिर सिरिसिरि चिसो बतास आउदा, चौतारीमै निदाउँछु सारै थकाइ लाउदा, ठुलाठुला सपना देख्छु सुखैसुख पाको, बिउँझी हेर्दा बढेमानको भारी छेउमा भाको, भरिया दाइले बिसाउने भारी, सुनमाया डाडैको चौतारी´ गीतमा सबै दर्शक एकसाथ नाचे । प्रेमीका सम्झदै उनले गलकोटमा वग्यो दरम गीत गाए । सँगै जीवन बिताउने बेलामा छुट्टीने कर्म रहेको दु:ख पोखे ।
बार्सिलोना संसारका पर्यटक घुम्न आउने मुख्य गन्तव्य पनि हो । नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुङ्गानाले गायक खत्रीका गीतले नेपालको याद दिलाएको टिप्पणी गरे । ´नेपालकै चौतारीमा बसेर गीत हेरेजस्तो भो´, उनले भने, ´नेपाली मौलिक भाका कहिल्यै पुराना नहुने रहेछन् ।` नेपाली जनप्रगतिशील मञ्च युरोपका उपाध्यक्ष गंगाप्रसाद भुषालले नेपाली लोकभाकाले नेपालीपन झन बढाएको बताए ।
युरोप महासचिव अर्जुन आचार्यले प्रवासीहरु नेपाली कला, संस्कृति जगेर्ना गर्न सदैव अग्रसर बनेको तर्क गरे । एनआरएनए स्पेनका अध्यक्ष पेशल कोइरालाले लोकभाकाले नेपालीबीच एकताको भाव बढाएको अनुभूति भएको बताए । पूर्व अध्यक्ष शालिग्राम डुम्रेले नेपाली भाका सहितको कार्यक्रम हरेक नेपाली रेष्टुरेन्टमा बर्सेनी गर्ने अभियान चलाउनुपर्ने बताए ।
एनआरएनएका निवर्तमान आइसीसी सदस्य दिनेशकुमार गिरीले नेपाली जहाँ पुगेपनि नेपालको माया भुल्न नसक्ने बताए । जनप्रगतिशील मञ्च स्पेनका महासचिव धिरज सापकोटाले कार्यक्रम भव्य रुपमा सफल भएको बताए । बाग्लुङ समाज, क्षेत्री समाज, चितवन समाज, कास्की समाज, तमु समाज बार्सिलोना, मोना स्पेन, पर्वत समाज, एनआरएनए स्पेनलगायतका पदाधिकारी सहित बार्सिलोना आसपास रहेका प्रवासी नेपालीहरु सहभागी भएका थिए ।
गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी) ले जाउ न माया पोखरा घुम्नलाई भन्दै गाएको गीतमा तालि पाइन् । बार्सिलोना फुटबल क्लब नजिकै ३ नेपालीले खोलेको सुविधासम्पन्न रेष्टुरेन्टमा कार्यक्रम भएको हो । रामेछापका दिनेश गिरी, पोखराका शंकर बराल र दीपक बस्नेत मिलेर रेष्टुरेन्ट खोलेका हुन् ।