भरतपुर, १८ साउन ।
शैक्षिक सत्र २०८०-८१ को कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नतिजाअनुसार १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।
२.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी ७८ हजार ७५ रहेको छ । ६१ हजार ३६ विद्यार्थीले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन् । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । त्यस्तै, सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेका छन् ।
२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० रहेको छ । यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना छन् ।
गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित र ग्रेडवृद्धि दुवैतर्फ गरी कूल ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका थिए ।
बोर्डले पाँच हजार ५ सय ४२ विद्यालयका परीक्षार्थीलाई १ हजार ५ सय २६ परीक्षा केन्द्रमार्फत परीक्षा लिएको थियो ।