लामो समय प्रवासमा बिताएका कारण राम कुँवरलाई चितवनले चिनेन । आफ्ना साहित्यिक रचना लिएर पाठकसामु पहिले त्यति देखा नपरेका सर्जक राम कुँवरको पहिलो साहित्यिक सन्तान हो ‘आमा र लोग्ने’ कथासङ्ग्रह । विविध विषयवस्तु समेटिएको यो कथाकृतिमा बीसवटा छोटा खालका कथाहरु सङ्गृहीत छ । ती कथाहरुले देशका विविध स्थानको चित्रण गरेको छ । यसमा समेटिएका कथामा आजभन्दा करिब चालीस वर्ष अघिदेखि आजसम्मको कथा छ । यसर्थ ‘आमा र लोग्ने’ देश हेर्ने ऐना हो । पहिलो साहित्यिक कृति भएर पनि यो औसतभन्दा राम्रो बनेर आएको छ । यसरी कथाको यात्रामा लामबद्ध भई जोडिन आएका राम कुँवरलाई हार्दिक बधाई छ ।
कथाकार राम कुँवर चितवनकै हुन् नि !
पहिला पहिला निकै बहस हुने गरेको विषय हो, साहित्य पढ्दा स्रष्टालाई पनि पढ्नु राम्रो हो कि होइन ? अचेल यस्तो चर्चा हुँदैन । तैपनि स्रष्टाका बारेमा जान्न पाए पाठक पक्कै लाभान्वित भने हुन्छन् ठान्छु म । यो बहस यहीँ रोकौँ । यतिबेला चितवनको माटो नेपाली साहित्यमा निकै उर्वर बन्दै गइरहेकोे छ । यही परिवेशमा बसेर साहित्य सिर्जना गरिरहेको भए पनि सााहित्यिक वृत्तमा त्यति देखा नपर्ने राम कुँवर अन्तर्मुखी स्वभावका स्रष्टा हुन् ।
आफ्नो पहिलो कृति कथासङ्ग्रह लिएर आएका राम कुँवर भरतपुर महानगरपालिका वडा नं. २०, चनौलीका स्थायी बासिन्दा हुन् भने यतिबेला भरतपुर ११ मा अस्थायी बसोबास गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातक र ग्रामीण विकास तथा राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनले लामो समय रोजगारीका सिलसिलामा प्रवासमा बिताए । हाल उनी चितवनमै स्वरोजगार छन् । एकान्त साधना गर्न मन पराउने उनको पहिलो साहित्यिक सन्तानका रुपमा हालसालै ‘आमा र लोग्ने’ कथासङ्ग्रह (२०८१) प्रकाशित भएको छ ।
‘आमा र लोग्ने’ कथासङ्ग्रहको छोटो चिनारी
कथाकार राम कुँवरको पहिलो कृति ‘आमा र लोग्ने’ कथाङग्रहको प्रकाशन शिखा बुक्स, काठमाडौँले गरेको हो । यसमा विविध भावका बीसवटा छोटा खालका कथाहरु समेटिएका छन् । यसमा नेपालको हिमाल, पहाड र तराईका घटनाहरु आएका छन् । यसले वर्तमान समय मात्र नभएर आजभन्दा करिब तीन चार दशक अगाडिको समयलाई पनि मार्मिक तरिकाले चित्रण गरेको छ । जम्मा १९५ पृष्ठको आयाममा फैलिएको यो कृतिको मूल्य भने रु. ५२५/- राखिएको छ, जुन कुनै पनि कोणबाट पाठकमैत्री छैन ।
आमा र लोग्ने कथासङ्ग्रहको चिनारी
समकालीन नेपाली कथामा पाइने विविधताको परिचायक बनेर आएको छ ‘आमा र लोग्ने’ कथासङ्ग्रह । यसभित्र विविध खालका बीसवटा कथाका माला उनिएको छ । ती कथामा प्रयुक्त कथावस्तु, परिवेश र पात्रमा विविधता पाइन्छ । ती कथामा के छ त भन्ने कुराको पुष्टि यसरी गर्न सकिन्छ ः
यो सङ्ग्रहको पहिलो कथा ‘आमा, दुई थाल भात खान्छु !’ फेरिँदै गएको कर्णालीको चित्रण गरिएको कथा हो । यसमा कर्णालीमा केही वर्ष यता विकसित भएको यार्सा संस्कृतिलाई यसरी देखाइएको छ :
सेतो चामलको भात खानका लागि दसैँ–तिहार जस्ता पर्व कुर्नैपर्ने गाउँमा अचेल नयाँ चाड थपिएको छ । यार्सा चाड । कतिपय आईमाईहरुले त यही बेला तीजका कपडा, दसैँ–तिहारका लागि कपडासमेत किन्ने गर्छन् । पहिले–पहिले एक–डेढ वर्ष लाहुर गएर कमाइ ल्याउने पैसा अहिले एक डेढ महिनाको कीरा सिजनबाट ल्याउने गरेका छन् यहाँका मान्छेहरुले । (पृष्ठ : १२)
एउटी बालिका निनीको परिवारको चित्रण गरिएको यो कथामा यार्सागुम्बा सङ्कलन गर्ने समयलाई एउटा उत्सव, एउटा नवीन पर्व र आर्थिक उन्नतिको मौसमका रुपमा देखाइएको छ । तर कथाको अन्त्यमा भात खानुअघि निनीले पशु–चौपायालाई भएभरको घाँस–पराल राखिदिँदै आज नै आफ्नो अन्तिम दिन भएको कुरा गर्नु र हात धुन बाहिर निस्कने क्रममा ‘आमा !’ भनेर चिच्याउनु र आमा बाहिर निस्कँदा उसको मृत्यु भएको देखाउनु अलिक शङ्कास्पद छ । ऊ कुनै दुर्घटनाबाट मरी कि आत्महत्या गरी प्रस्ट खुल्दैन । जेहोस्, यो नेपाली कथामा विल्कुलै नयाँ खालको कथा हो ।
त्यस्तै सङ्ग्रहको शीर्षकमा समेत राखिएको ‘आमा र लोग्ने’ प्रयोगशील सामाजिक कथा हो । यसमा आजको घटनाबाट हिजो, हिजोबाट अस्ति हुँदै विगततर्फ गएको उल्टो बगेको कथानक छ । एउटी वैधव्य जीवन गुजार्दै गरेकी हिन्दु महिला एक्कासि क्रिश्चियन बनेको र विवाह गरेर छोराबुहारीलाई छोडेको सन्दर्भले पाठकको मन तान्छ । बुढेसकालमा गरिएको त्यो विवाह पनि भनेजस्तो नभएपछि ऊ हराएको कुरा देखाउँदै कथा टुङ्ग्याइएको छ । कथाको सुरुमै अन्त्यको घटना यसरी आउँछ :
बिहे गरेर सँगै बस्न थालेको तीन वर्ष पनि नपुग्दै आमालाई लोग्नेले छोडिदियो । आमाको केही पैसा र सुनका गहना लिएर भाग्यो भन्ने कुरा पनि सुनियो तर आमाले यसबारेमा केही कुरा बोलिनन् । उनी नैतिक र आर्थिक रुपमा सङ्कटमा परिन् । पछि उनी त्यस ठाउँ छोडेर कता लागिन् थाहा भएन । (पृष्ठ : १५४)
त्यस्तै सङ्ग्रहको दोस्रो कथा ‘ग्राहक’ प्रयोगशील खालको कथा हो । यसमा एउटी यौनकर्मीको जीवनलाई फरक तरिकाले देखाइएको छ । उसले लेखेको आत्मजीवनीको विमोचनको सन्दर्भ उठाउँदै विगततर्फ लगिएको छ । कथाको अन्त्यमा सेलिब्रिटी बनेकी उक्त लेखिका अर्थात् पूर्व यौनकर्मी आत्महत्या गरेको देखाएर कथा टुङ्ग्याइएको छ । त्यस्तै तेस्रो कथा ‘बाख्री’ पशुसम्बन्धी कथा हो । यसमा एउटी गर्भवती बाख्रीको यातनापरक मृत्युलाई देखाइएको छ भने चौथो कथा ‘कलम’ विद्यार्थी जीवनको चित्रण भएको कथा हो । यसमा कलमका माध्यमबाट हुने परिचय देखाइएको छ । अर्को कथा ‘विवाह’ आर्थिक रुपमा सम्पन्न तर शारीरिक र मानसिक रुपमा कमजोर युवकसँग विवाह भएकी एउटी युवती थरीको कथा हो । यसमा नायिकाले समाजकै सबल तर अविवाहित युवकसँग भागी विवाह गरेको सन्दर्भ देखाइएको छ । त्यस्तै ‘कथाको खोजी’ अर्को प्रयोगशील कथा हो । यसको सुरुमा समाख्याताले कथा खोज्न हिँडेको कुरा गरिएको छ । जति खोज्दा पनि कथा नभेटेपछि उसले आफ्नै कथा भन्दै आफूले गरेको अन्तजार्तीय प्रेम र विवाहको कुरा गरेका छन् ।
‘प्रेमपत्र’ कथामा पनि विद्यार्थी जीवनको चित्रण गरिएको छ । यसमा प्रेमपत्र लेखन प्रतियोगितामा प्रथमको सन्दर्भ उठाउँदै त्यसपछि अन्तमुर्खी स्वभावको रमेश प्लेब्वाईका रुपमा परिणत भएको कुरा गरिएको छ । त्यस्तै ‘अवसान’ एक जना निष्ठावान् बामपन्थी नेता देवीवहादुरको उत्तरार्ध जीवनको चित्रण गरिएको कथा हो । यसमा जीवनभर राजनीतिमा लागेका कारण निर्धन भएको र त्यसपछि रोगी भएका कारण पाएको दुःखको चित्रण गर्दै वर्तमान राजनीतिक विकृतिको आंशिक चित्रण गरिएको छ । त्यस्तै ‘त्यो घर’ कथा कीर्तिपुर पढ्न बसेको विद्यार्थीले छिमेकमा बन्दै गरेको घर हेरेर गरेको सामान्य बयान गरिएको कथा हो । उनको ‘निमित्त’ कथा इन्द्रबहादुर राईको लीलालेखनको प्रभाव परेको कथा हो । यसमा कृष्ण धराबासीलाई पात्र बनाइएको छ भने कथाका सबै पात्रलाई निमित्त मात्र ठान्ने खालको प्रयोगशीलता देखाइएको छ । यो आकारमा छोटो भएर पनि सुन्दर कथा हो ।
‘कल्पना’ सामाजिक कथा हो । विवाह भएको छ महिनामै मलमास बार्न माइत गएको बेला कल्पनाले छोरी जन्माएको सन्दर्भ, त्यसपछि उसको लोग्ने नरेले अस्वीकार गरेको कुरा, छोरीलाई सङ्घर्ष गरेर हुर्काएको सन्दर्भ यसमा आएको छ । पछि कल्पना हराएको कुरा गरिएको छ भने यसमा माओवादी जनयुद्धका समयमा बेपत्ताको भएकाहरुको खोजीमा उसकी छोरी सामेल भएको देखाइएको छ । उसकी छोरीले लिएको प्लेकार्ड हेरेर नरेले कल्पनाको सम्झना गरेको देखाइएको छ । त्यस्तै ‘घर–झगडा’ घरभित्रको कलह देखाउने तीन पुस्ताको वर्णन भएको सामान्य कथा हो भने ‘झगरुको कुकुर’ कुकुरलाई बिम्ब बनाएर खर्चालु परिवारको चित्रण गरिएको कथा हो ।
त्यस्तै ‘सन्तेकी आमा’ एउटी मेहनती थारु महिलाको कथा हो । करिब एक दर्जन सन्तान पाएर बुढी भइसकेपछि सन्तानको अवहेलनाका कारण घर छोडेर बेपत्ता भएकी उक्त महिलाको जीवन चित्रण गरिएको यो केही लामो खालको कथा पनि हो ।
‘मेरो छोरा !’ कथा सामाजिक र मनोवैज्ञानिक ढाँचालाई मिश्रण गरिएको कथा हो । यसमा सधैँ व्यापारमा व्यस्त हुने सुकलालका दुई छोराहरु हुर्केपछि उनीहरुको अनुहारमा उसले आफ्नोभन्दा पनि कवाडीको काम गर्ने अरुकै प्रतिरुप देखेको सन्दर्भ उठाएर हल्का मनोविज्ञानको प्रयोग गरिएको छ । अर्को कथा ‘भोज’ गोविन्दबहादुर मल्ल गोठालेको ‘म जुजुमान’ कथाको प्रभावमा लेखिएको अर्को मनोविज्ञान र समाजविज्ञानको प्रयोग भएको कथा हो । यसमा भोजमा सुट नलगाई गएका कारण तिरस्कार भोगेपछि दही किनेर ल्याई चिउरासँग मिसाएर असार पन्ध्र मनाएको मर्मस्पर्शी घटना देखाइएको छ ।
‘सिमलको रुख’ थारु गाउँको कथा हो । यसमा सिमलको रुखलाई पर्यावरणीय बिम्बका रुपमा पनि लिन सकिन्छ । त्यो रुख काट्दा भेटिएको खजानाका कारण सोही रात सुनाही काकाको रहस्यात्मक मृत्यु देखाएर कथाको अन्त्य गरिएको छ । त्यस्तै ‘चुम्बन’ गिट्टी कुट्ने प्रौढतातर्फ लागेको कमानसिँह तामाङ र उसको दुःखी परिवारको कथा हो । यसमा आफूले काम गर्ने ठाउँमा लुकीलुकी प्रेम प्रदर्शन गर्ने जोडीको नक्कल गर्दै एक दिन थोते दाँत भएको बुढो कमानसिँहले आफ्नी श्रीमतीलाई काम गरिरहेकै ठाउँमा चुम्बन गरेको नसुहाउँदो चित्रण गरी कथालाई समापन गरिएको छ । त्यस्तै ‘पूर्वमन्त्री’ मन्त्री पदबाट खुस्केको भए पनि परिवर्तनको ढोंग रच्ने, पुरानै दम्भ बोकेको, आफू मन्त्री हुँदाकै जस्तो व्यवहार देखाउने एउटा अविवाहित नेताको दिनचर्चा चित्रण गरिएको कथा हो । यसमा वर्तमान नेतालाई व्यङ्ग्य गरिएको छ ।
यसरी ‘आमा र लोग्ने’ कथासङ्ग्रहमा विविध भावलाई सुन्दर ढङ्गले उतारिएको छ । त्यस्तै आजभन्दा करिब चालीस वर्ष अगाडिदेखि हालसम्मको समयलाई चित्रण गरिएकाले समयगत विविधता पाइन्छ । यसमा चितवनदेखि जुम्लासम्मका विविध ठाउँहरु उतारिएकाले स्थानगत विविधता पाइन्छ । यसर्थ यो कृति पाठकको रोजाइमा पर्न सक्ने कृति बनेको छ ।
‘आमा र लोग्ने’ कथासङ्ग्रहको मूल प्राप्ति
साहित्य पढ्नु भनेको केवल मनोरञ्जन लिनु मात्र होइन । यसले हामीलाई समाज पढाउँछ, संस्कृति सिकाउँछ, जीवन बाँच्ने कलाका बारेमा जानकारी दिन्छ । हो, यस्तै यस्तै कुराहरु ‘आमा र लोग्ने’ कथासङ्ग्रहमा पाउन सकिन्छ । यसमा चितवनमा पहिले पहिले प्रचलनमा भएको थारु संस्कृति आएको छ । कर्णालीमा केही दशक अघिदेखि सुरु भएको यार्सा संस्कृति पनि आएको छ । यौनव्यवसायका कारण प्रशस्त पैसा कमाएर समाजसेवामा लागेकी युवतीले आफ्नो जीवनका बारेमा किताब लेखेर रातारात चर्चित भएपछि पनि आत्महत्या गरेको देखाएर जीवन कसरी बाँच्दा उपयुक्त हुन्छ ? भन्ने सोच्न बाध्य बनाएको छ ।
शीर्षक कथा ‘आमा र लोग्ने’ कथामा धर्म परिवर्तन गरेर नयाँ जीवन थालेकी आमाले दोस्रो विवाह गरेर पनि सुुख नपाएका कारण एक्कासि बेपत्ता भएको देखाइएको छ । यसले जीवनलाई कसरी सुखतर्फ लान सकिन्छ भन्ने सोचका कारण थप दुःख पाएको देखाएको छ । यसर्थ ‘आमा र लोग्ने’ कथासङ्ग्रह जीवनोपयोगी कथासङ्ग्रह हो । पहिलो कृति भएका कारण कथाको परिष्कार र परिमार्जनमा केही कमीकमजोरीहरु देखिएका छन्, भाषिक शुद्धता औसत छ । कथाको बनोट र बुनोटमा सुधार गर्नुपर्ने ठाउँहरु प्रशस्त छन् । कतिपय कथामा आकस्मिक रुपमा आएका घटनाको पूर्व घटनासँग कार्यकारण सम्बन्ध मिलेका छैनन् । यति हुँदाहुँदै पनि औसतमा यो कृति पठनीय छ । ‘आमा र लोग्ने’ कथाकृतिका कृतिकार राम कुँवरलाई बधाई भन्दै छिट्टै उनको अर्को कथा कृति र उपन्याससमेत पढ्न पाऊँ भन्ने आशाका साथमा कलम रोक्छु ।