देवघाटधाम, १७ साउन ।
तनहुँको देवघाट गाउँपालिका ५ देवपुरमा शनिबारदेखि सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटबल हुने भएको छ । श्री गाउँ सुधार समिति देवघाट ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
देवघाटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा ४० टोली सहभागी हुने समितिका अध्यक्ष सुकु गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने गुरुङले बताए । उपविजेता टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा देवघाट ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवर, पूर्व वडाध्यक्ष यालबहादुर गुरुङ, सामुदायिक वनका अध्यक्ष डिलबहादुर गुरुङ, देवघाट ५ वडा युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खेमबहादुर राना र मिलिजुली आमा समूहकी अध्यक्ष भरिमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि छ ।