भरतपुर, १७ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर-१६ विजयनगरस्थित विजयटोलमा सडक छेउमा सानो आकारको पुस्तकालय सञ्चालनमा आएको छ । बिहीबार बिहान भरतपुर- १६ का वडाध्यक्ष अमृतराज हमालले पुस्तकालय उद्घाटन गरेका हुन् ।
जयनेपाल इन्टरनेशनल फाउन्डेसनले `टोलटोलमा पुस्तकालय´लाई अभियानको रूपमा लैजाने योजना अनुरुप भरतपुरबाट पुस्तकालय बनाउने अभियान सुरु गरेको हो । फाउन्डेसनबाट टोलटोलमा पुस्तकालय अभियानको संयोजकको जिम्मेवारी पाएका सुभाष घिमिरेले आफ्नै थातथलोबाट पुस्तकालय सुरु गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका घिमिरेले त्यहाँको बाल्टिमोर शहरमा यो किसिमको पुस्तकालय देखेपछि नेपालमा आएर यस्तै पुस्तकालय बनाउने सपना बुनेका थिए । आफ्नो योजनालाई साथीहरूमाझ राख्ने क्रममा जयनेपाल इन्टरनेशनल फाउन्डेसनले टोलटोलमा पुस्तकालयलाई अभियानका रूपमा अगाडि बढाउन अनुरोध गर्दै आफूलाई जिम्मेवारी दिएको घिमिरेले सुनाए ।
विजयनगरस्थित दुर्गा शेषकान्त माध्यमिक विद्यालयको मुल गेट अगाडि बाटो छेउमा फलामको पिल्लरमा छानो सहितको सानो घर बनाएर उक्त घरमा किताब राखिएको छ । करिब २० हजार रुपैयाँ लगानीमा बनेको यो पुस्तकालयमा अहिले करिब २० वटा किताब राखिएको छ । करिब ३०० वटा किताब अट्ने क्षमता रहेको यसमा आवश्यकता अनुसार किताब थप्दै जाने योजना रहेको संयोजक घिमिरेले बताए ।
कार्यक्रममा अतिथिका रूपमा उपस्थित उदय अधिकारीले गाउँमा पुस्तकालय खोल्नु है महत्त्वपूर्ण भएको बताए । वडाबासी सबैलाई यो पुस्तकालयको प्रयोग र संरक्षण गर्न अधिकारीले सुझाव दिए । `खुला राखिएको यो बाकसमा सबैको बराबर पहुँच हुने र पढ्नलाई कसैले नछेक्ने भएकोले यो आफैमा प्रशंसनीय काम हो´, अधिकारीले भने ।
नेपाल किसान संघ बागमती प्रदेश सदस्य एवम् स्थानीय शोभा भुसालले आफ्नो गाउँमा पुस्तकालय खुलेकोमा खुसी व्यक्त गरिन् । `म पनि अब यहीँबाट नियमितरूपमा पढ्छु र अरुलाई पनि किताब पढ्न प्रेरित गर्नेछु ।´
यो पुस्तकालय विद्यालय अगाडि भएकोले विशेषगरी विद्यार्थीहरू लाभान्वित हुने वडाध्यक्ष हमालले अपेक्षा गरेका छन् । `विद्यालय अगाडि पुस्तकालय छ । विद्यार्थीहरुलाई खाली समयमा यसको प्रयोग गर्न सिकाइनेछ । वडाले यसको संरक्षणमा ध्यान दिनेछ । वडाबासीलाई पनि उपयोगी हुने खालका नयाँ पुराना सबै खालका किताब यहाँ उपलब्ध गराउन पहल गर्नेछु´, हमालले भने ।
किताब पढ्न इच्छुक जो कसैले पनि ती किताब घरमै लगेर पढ्न पाउनेछन् । पढिसकेका किताब पुनः यहीँ ल्याएर राख्न सकिन्छ भने थप किताब सहयोग गर्न पनि सकिन्छ । `आफूले पनि पढौँ, अरुलाई पनि पढाऔँ र पठन संस्कारको विकास गरौं´ भन्ने उद्देश्य राखेर टोलटोलमा पुस्तकालय अभियान थालिएको संयोजक घिमिरेले बताए । उनका अनुसार यो अभियान अन्तर्गत भरतपुर र यहाँका अन्य ठाउँ सँगसँगै नेपालका विभिन्न भागमा पुस्तकालय बनाउने योजना छ ।
बक्समा सिसाको ढोका छ । भित्र केके किताब छन् बाहिर बाटै देखिन्छ । बक्समा एउटा सूचना टाँसिएको छ । जसमा लेखिएको छ :
`सानो निशुल्क पुस्तकालय । एउटा किताब लिनुहोस्, एउटा छोड्नुहोस् । तपाईं कुनै किताब नछोडी लिन पनि सक्नुहुन्छ, तपाईं कुनै किताब नलिइ छोड्न पनि सक्नुहुन्छ ।´