मकवानपुर, १७ साउन ।
बागमती प्रदेश मामिला समितिले सरकारलाई ३ वटा विषयमा निर्देशन दिएको छ । बुधबार बसेको प्रदेश मामिला समितिको बैठकले प्रदेश लोकसेवा आयोगसँग सम्बन्धित २ र विपद् व्यवस्थापनसँग सम्बन्धित १ वटा निर्णयसहित प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
समिति सभापति छिरिङ दोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले प्रदेश लोकसेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न निर्देशन दिएको छ । आयोगको अध्यक्ष नियुक्त नहुँदा कर्मचारी व्यवस्थापन तथा नियुक्ति र बढुवा प्रक्रिया समेत प्रभावित भएकाले तत्काल अध्यक्ष नियुक्त गर्न बैठकले निर्देशन दिएको हो । बैठकले सरकारलाई गम्भिरताका साथ समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्न समेत भनेको छ ।
६ महिनादेखि बागमती प्रदेश लोकसेवा आयोग अध्यक्षविहीन छ । तत्कालिन अध्यक्ष सुरेशमान श्रेष्ठको उमेर हदका कारण अवकाश भएकाले आयोगको अध्यक्ष पद रिक्त रहेको छ । त्यस्तै बैठकले निजामती ऐनको समयानुकुल संशोधन गर्न निर्देशन दिएको छ । बैठकले निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन २०७९ र स्थानीय तहको सेवा (गठन तथा संचालन) ऐन २०७९ का विभिन्न दफाहरु आपसमा बाझिएको तथा कतिपय अस्पष्टताका कारण समस्या भएकाले आवश्यक संशोधनका लागि प्रदेश सभामा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
यसैगरी विपद् व्यवस्थापनमा गम्भीर हुन समेत बैठकले भनेको छ । समितिले तयार गरेका अध्ययन अनुसन्धानका प्रतिवेदन तथा सुझावहरुलाई गम्भिरताका साथ कार्यान्वयन गर्न निर्देशन दिएको बैठकले विपद् व्यवस्थापन सम्बन्धी कानुनमा त्रुटि देखिएको केही दफाहरु परिमार्जन गर्न विधेयक प्रदेश सभामा पेश गर्न निर्देशन समेत दिएको छ ।
बागमती प्रदेशद्वारा सरकारलाई तीन निर्देशन
बागमती प्रदेशद्वारा सरकारलाई तीन निर्देशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस