चितवन, १५ साउन
`मानव वेचबिखन बिरुद्धको लडाईमा कुनै पनि बालबालिकालाई पछाडी नछोडौँ´ भन्ने नाराका साथ बुधवार मानव वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस २०२४ मा विविध जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
हरेक वर्ष जस्तै यो वर्ष पनि ३० जुलाईको अवसरमा विश्वभर मानव वेचबिखन बिरुद्धको दिवस मनाईएको छ ।
दिवसको अवसरमा चितवनमा पनि विविध जनचेतनामुलक कार्यक्रमसहित मानव वेचबिखन नियन्त्रणका लागि जिल्लाका सरकारी निकायले विभिन्न प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसै चितवन जिल्लामा रहेर हिंसा तथा मानव वेचबिखन नियन्त्रणका लागि कार्यरत विभिन्न संघसंस्थाहरुले नियन्त्रणका लागि अझै शसक्त पहल गर्ने बताएका छन् ।
मानव वेचबिखन नियन्त्रण जिल्ला सञ्जालको समन्वयमा चितवनका सरकारी तथा गैर सरकारी निकायको पहल र प्रतिबद्धता सहितको भिडियो क्याम्पेन गरिएको छ ।
भिडियो क्याम्पेनका क्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख भावेष रिमाल र भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले चितवन जिल्लामा बढिरहेको आन्तरिक बेचबिखन न्युनीकरणका लागि आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै नागरिक समाजका तर्फबाट यौनजन्य हिंसा बिरुद्धको साझा अभियान संयोजक तथा आदर्श गृहका अध्यक्ष मीना खरेल, साझा अभियानका सहसंयोजक तथा महिला शसक्तीकरण अभियानका अध्यक्ष संगीता भट्टराई, मानव वेचबिखन नियन्त्रण जिल्ला संजाल संयोजक तथा माईती नेपालका जिल्ला संयोजक ईश्वर गिरी, मानव बेचबिखन नियन्त्रण जिल्ला संजाल सहसंयोजक तथा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकाल, आशिष सामाजिक सेवा नेपालका अध्यक्ष कल्पना सेन्चुरी, चेली नेपालका कार्यक्रम संयोजक निशा गिरी, आफन्त नेपालका जिल्ला संयोजक करुणा त्रिखत्री, श्रमिक नेपालका अध्यक्ष साबित्री पौडेल, सामरी उत्थान सेवाका परियोजना संयोजक मनोज पासबानलगायतले मानव बेचबिखन न्युनीकरणको लागि संस्थाले अझ शसक्त पहल गर्ने र प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी दिवसको अवसरमा मैयादेवी कन्या कलेज भरतपुरमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
माईती नेपाल चितवन र मानव बेचबिखन नियन्त्रण जिल्ला सञ्जाल तथा मैयादेवी कन्या कलेजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कलेजका संरक्षक प्रेमकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा प्रिन्सीपल भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माईती नेपाल चितवनका जिल्ला संयोजक ईश्वर गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजमा अध्ययनरत १ सय जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । साथै संजालमा आवद्ध संस्थाहरु हाम्रो भरोसा नेपाल, सामरी उत्थान सेवा र आशिष सामाजिक सेवा नेपालका प्रतिनिधिहरु र कलेजका शिक्षक, शिक्षिकाहरुको समेत कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्र संघले मानव बेचबिखन बिरुद्धमा सचेतना फैलाउने उदेश्यले मानव बेचबिखन विरुद्ध दिवस हरेक वर्ष ३० जुलाईमा मनाउने गरेको छ । सोही अवसरमा चितवनसहित देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको हो ।