माडी, १५ साउन ।
युवा सीप वर्ष- २०८१ अन्तर्गतका विभिन्न तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा चितवनको भरतपुर र माडीका करिव ४०० जना युवालाई नि:शुल्क सीप विकास तालिम दिइएको थियो ।
`सिर्जनशीलता र उद्यमशीलता प्रबर्द्धन, बागमतीमा युवा सशक्तीकरण´ अभियानसहित बिल्डिङ इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, कुक, वेटर, वेट्रेस, डकर्मी, ड्राइभिङ, बेमौसमी तरकारी खेती सम्बन्धि र मन्टेश्वरी तालिम लिएका करिव ४०० जना युवालाई उक्त सीपमा दक्ष बनाइ दीक्षित गरिएको प्रदेश युवा परिषद् बागमती चितवनका अध्यक्ष रामचन्द्र लम्सालले बताए ।
दीक्षान्त समारोह अन्तर्गत प्रमाणपत्र वितरण कार्यक्रममा तालिममा सहभागी युवालाई कालो टोपी लगाएर दीक्षित गरिएको थियो । विभिन्न तालिम मध्ये मन्टेश्वरी तालिम लिएका युवाले बनाएको कागजको टोपी लगाएर युवालाई दीक्षित गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले आफूले सिकेका सीपलाई व्यवहारमा लागू गरी युवाहरूलाई उद्यमशील बन्न आग्रह गरिन् । `यो आधारभूत तालिम हो तर तपाईंको लागि यो महत्त्वपूर्ण अवसर हो । यसैलाई निरन्तरता दिएर आफ्नो सीपमा अझै कटिबद्ध हुनसके तपाईंहरू विदेश जानू पर्दैन । नेपाल मै तपाईंले केही गर्न सक्नुहुन्छ´, महतोले भनिन् ।
प्रदेश युवा परिषद् बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राज्यले युवाहरूलाई सीप विकासको लागि ठुलो लगानी गरेको बताउँदै युवालाई सिकेको सीपको सदुपयोग गर्न आग्रह गरे । `राज्यले दिने तालिममा युवाहरूको पनि रुचि हुनुपर्छ, युवाहरूले इच्छा चाहना गरेमा मात्रै यी सीप र तालिमको प्रभावकारिता रहन्छ´, चौलागाईंले भने ।
कार्यक्रमका सभापति बागमती प्रदेश युवा परिषद् चितवनका अध्यक्ष रामचन्द्र लम्सालले युवाहरूलाई तालिम दिएर दक्ष भएको प्रमाणपत्र दिन पाउँदा आफूलाई खुसी लागेको बताए । `हामीले तपाईंहरूलाई आआफ्नो सीपमा दक्ष बनाएका छौँ । यहि तालिमबाट उत्पादन भएको कागजको टोपीले तपाईंहरूलाई दीक्षित गरेका छौँ । तालिममा दक्षता हासिल गरेकालाई टोपी लगाएर दीक्षित गरेको यो नै संभवत पहिलोपटक हो´, अध्यक्ष लम्सालले भने – `यो टोपी लगाएर तपाईंहरू क्यारमबोर्ड खेल्न नबस्नु होला । जसले जे तालिम लिनुभएको छ, त्यसलाई निरन्तरता दिनुहोला ।´
कार्यक्रममा वर्ल्डलिंक इन्टरनेशनल ट्रेनिङ सेन्टरका प्रतिनिधि केदार बास्तोलाले स्वागत मन्तव्य राख्दै सहभागी युवालाई शुभकामना व्यक्त गरे । प्रमाणपत्र वितरण कार्यक्रममा माडी नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् स्थानीय समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रमलाई विपिन पाठकले सहजीकरण गरेका थिए ।