मकवानपुर, १५ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप मंगलबार विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री लामा प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको थियो । तटस्थमा ३ मत परेको थियो । लामालाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरुले मतदान गरेका हुन् । त्यसपछि सभामुख भुवनकुमार पाठकले विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए । बागमती प्रदेश सभामा ७ दलका ११० सांसद रहेकोमा मंगलबारको बैठकमा १०३ जना सदस्य उपस्थित भएको उनले जानकारी दिए ।
लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिएका हुन् । विश्वासको मतका लागि मंगलबार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।
मंगलबारको बैठकमा विशेष र शून्य समय नहुने सभामुख पाठकले जानकारी गराए लगत्तै मख्यमन्त्री लामाले आफ्नो धारणासहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेश पेश गरेका थिए । विश्वासको मतसम्बन्धी प्रस्ताव माथि नेपाली काँग्रेसका नेता रामकृष्ण चित्रकार, नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई शुभकामना दिँदै विश्वासको मतको पक्षमा रहेको धारणा राखेका थिए ।
नेकपा माओवादी केन्द्रका युवराज दुलालले नयाँ मुख्यमन्त्री र सरकारलाई बधाई दिए । उनले माओवादी केन्द्र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने बताउँदै विश्वासको मतको विपक्षमा रहेको जानकारी दिए । यसैगरी राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै विपक्षमा मतदान गर्ने बताए । उनले राप्रपा सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मतको प्रस्तावमा नेमकिपा तटस्थ बसेको छ । संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगतदेखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रहने बताए ।
दलगत रुपमा प्रदेश सभा सदस्यले बोलेपछि मुख्यमन्त्री लामाले उठेका प्रश्नको जवाफ दिएका थिए । लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरुलाई लिखितरुपमा पत्राचार गरेर आग्रह गरेका सभामा जानकारी समेत गराएका थिए । त्यसपछि विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन भएको थियो ।
बागमतीमा पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले साउन १२ गते एक जना बिनाविभागीय मन्त्रीसहित सरकारलाई पूर्णता दिएका थिए । बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको छ । बागमती प्रदेशमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र दोस्रो ठुलो दल एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।