कावासोती, १२ साउन ।
म्याउँ म्याउँ बिरालो
यतातिर आउ
मेरो नाना काटी खाने
मुसामारी खाउ
कराईको बुबु नखाउ
म भोक्कै हुन्छु
धुरु धुरु रुन्छु
लात्तीले हान्छु
चोर बिरालो भन्छु !
यो प्रसिद्ध बाल कविताका हरफहरू नसुन्ने सायदै कोही होलान् । नेपाली बाल साहित्यमा सबैभन्दा बढी रुचाइएको बाल कविता `म्याउँ म्याउँ बिरालो´ का रचयिता कवि दीपक सोतीको कावासोती-१२ पिठौलीस्थित निवासमा नवलपुरका कवि तथा साहित्यकार जम्मा भए । सोती निवासमा आएका साहित्यकारहरूलाई कवि दीपक सोतीले सहृदय स्वागत गरे ।
चाउरिएको निधार र चाउरिएकै गालामा सेताम्य दाह्री पालेर ढाका टोपी ढल्काएर दैलो अगाडि उभिएका सोतीलाई भेट्न र उनको ७६ औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्न नवलपुरका कवि साहित्यकार सोती निवास पुगेका हुन् । सोती परिवारको आयोजना र देवचुली साहित्य समाजको समन्वयमा कवि सोतीको जन्मदिनको अवसरमा कविसँग साक्षात्कार र रचनावाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा उपस्थित कवि साहित्यकारहरूले केही प्रेमका केही समाज र देशका, केही जीवन जगतका कविता सुनाए । कतिले त कवि सोतीलाई सम्बोधन गरी दीर्घायुको कामना गर्दै कविताका हरफहरु समर्पण गरे । कवि साहित्यकारहरूले सोतीलाई शुभकामना व्यक्त गर्दा मुसुमुसु मुस्कुराइरहेका कवि दीपक सोती हर्ष विभोर देखिन्थे । उमेरले नेटो काट्नै लाग्दा पनि कवि दीपक सोतीको साहित्यप्रतिको लगाव, अग्रसरता र सक्रियता अनुसरण गर्न लायक रहेको साहित्यकारहरूको भनाइ थियो ।
कवि दीपक सोतीसँगको साक्षात्कार र रचनावाचन कार्यक्रममा नवलपुरका पुराना पुस्ताका कृष्णादेवी शर्मा श्रेष्ठले कविताकै हरफबाट कवि सोतीलाई जन्मदिनको शुभकामना टक्राउनुभयो । अर्का साहित्यकार सदानन्द अभागीले कवि सोतीकै `तिउन´ कविता समर्पण गर्नुभयो । साहित्यको भावले रङ्गीन बनेको सोती निवासमा कवि करुण लम्साल राधा पाण्डे, तेजेन्द्र सापकोटा, शोभा कोइराला खनाल, राजन पाण्डे, अशोक अधिकारी, नारायण प्रभु, निमा पौडेल तिवारी लगायतले कविता गजल र मुक्तक वाचन गर्दै कविको दीर्घायुको कामना गरे ।
कवि सोतीको ७६ औँ जन्मदिनको अवसरमा कविलाई शुभकामना प्रदान गर्न प्रमुख अतिथिका रुपमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल सोती निवास पुग्नुभयो । उहाँले कविलाई काव्यिक यात्राको सफलताको शुभकामना साथै सुस्वास्थ्यको कामना गर्दै कविता वाचन गर्नुभयो । प्रमुख जिल्ला अधिकारीले प्रेमिल कविता वाचन गरिरहँदा सोती निवास जाज्वल्यमान बनेको थियो । कवि सोतीलाई देवचुली नगरपालिकाका नगरप्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डे लगायतका व्यक्तित्वहरुले पनि कविता र शुभेच्छाका शब्दहरुले जन्मदिनको शुभकामना व्यक्त गरे ।
जन्मदिनमा कवितावाचन कार्यक्रम सम्पन्न हुँदै गर्दा कवि दीपक सोतीले नवलपुरे साहित्यकारहरूलाई स-सम्मान धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्ना आगामी जन्मदिनहरू पनि यसैगरी स्रष्टाहरूकै माझ मनाउन पाइयोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो । कवि सोतीले `मेरी मर्स्याङ्दी´, `म क्रान्तिकारी´ लगायतका कवितावाचन गर्दै कार्यक्रमको समापन गर्नुभयो । कवि दीपक सोतीको ७६ औँ जन्मदिनको अवसरमा आयोजित साक्षात्कार एवं रचनावाचन कार्यक्रमको सहजीकरण देवचुली साहित्य समाजका अध्यक्ष आदर्श सुशीलले गर्नुभएको थियो ।