भरतपुर, ११ साउन ।
नारायणगढमा २०१९ सालमा स्थापना भएको नारायणी कला मन्दिरले नाच्नमा पोख्त प्रतिभाको खोजी गर्न प्रतिभा मञ्च नामक नृत्य प्रतियोगिता सुरू गर्दैछ । कला मन्दिरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको हो ।
प्रतियोगिताका संयोजक रामशरण सिलवालले साउन १४ गते सोमबारदेखि खैरहनीबाट अडिसन सुरू गरिने जानकारी दिए । १९ गते शारदानगर, २१ गते कावासोती, २६ गते भरतपुर र २८ गते मुग्लिङमा अडिसन हुनेछ ।
अडिसनबाट ३० जना छनौट गरेपछि भदौ २६ गते नारायणी कला मन्दिरको मञ्चमा उत्कृष्ट १५ को छनौट गरिनेछ भने असोज १२ गते उत्कृष्ट १० र कात्तिक ३ गते उत्कृष्ट ५ छनौट हुनेछन् ।
प्रतियोगिताको ग्राण्ड फिनाले कात्तिक २४ गते शनिबार कला मन्दिरमा हुने अध्यक्ष रोहितकुमार श्रेष्ठले बताए ।
प्रतियोगिताको निर्णायकमा कलाकार मौसमी मल्ल, नृत्य निर्देशकद्वय पुष्प श्रेष्ठ र सुमित लामा छन् । प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार पाउने छन् । थप दुई जनालाई जनही पाँच हजार रूपैयाँ पुरस्कार दिइने कला मन्दिरले जनाएको छ ।
कला मन्दिरका सचिव सनदकुमार पियाले संचालन गरेको पत्रकार सम्मेलनमा पूर्वअध्यक्षद्वय प्रसाद श्रेष्ठ र विनय श्रेष्ठले पनि बोलेका थिए भने गायिका मेनुका पौडेललाई स्वागत एवं सम्मान गरिएको थियो ।