मकवानपुर, १० साउन ।
‘गल्ली संसार’ निबन्धसंग्रहका कृतिकार रोशन शेरचन हेटौँडामा एक कार्यक्रमबिच उपस्थित हुने भएका छन् । कवि भूपिनसँग ‘उत्तम शान्ति पुरस्कार २०८०’ प्राप्त कृतिका लेखक शेरचन परिसंवाद कार्यक्रमका क्रममा रहनेछन् ।
शुक्रबार साँझ आयोजना हुने सो कार्यक्रममा वक्ताका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियवन्दना रहने आयोजक साहित्य संगमका सचिव मनोज पोखरेलले जानकारी गराएका छन् । प्रियवन्दना ‘एक्काइसौँ शताब्दीको जिल खाइरहेको मान्छे’ कवितासंग्रहका कृतिकार हुन् ।
साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपालको सभाहलमा आयोजना हुने कार्यक्रममा लेखकद्वय भूपिन र शेरचनबिच उनका लेखनका साथसाथै समग्र निबन्ध लेखनको प्रवृत्ति तथा ‘गल्ली संसार’ को सेरोफेरोमा रहेर बहस सञ्चालन हुनेछ ।
शब्दहरूको देश (कवितासंग्रह, वि.सं. २०५३), सरुभक्तहरू (लामो कवितासंग्रह, वि.सं. २०५६), धोबीघाट एक्सप्रेस (निबन्धसंग्रह, वि.सं. २०७०), मस्तिष्कहरूको मृत्यु (निबन्धसंग्रह, वि.सं. २०५८), चम्पारन ब्लुज (निबन्धसंग्रह, वि.सं. २०६८) पुस्तकहरूको रचना गरी नेपाली साहित्याकाशका लागि समय र बौद्धिकताको लगानी गरिदिने शेरचनले वातावरणीय विज्ञानमा विद्यावारिधि गरेका छन् ।
नवीन कृति ‘गल्ली संसार’ ४८ निबन्धहरूको संग्रह हो जसमा निबन्धहरूलाई ४ भागमा विभाजन गरी ‘वैचारिकी’ अन्तर्गत १४ वटा, ‘पर्यावरण’ अन्तर्गत ८ वटा, ‘स्मृति–सन्झ्याल’ अन्तर्गत १२ वटा र ‘यात्रा र यात्राहरू’ अन्तर्गत १४ वटा निबन्धहरू समेटिएका छन् । यो पुस्तक पद्मश्री पुरस्कार २०८० का लागि उत्कृष्ट १५ पुस्तकभित्र छनौटमा समेत परेको छ ।
लेखकमा वन विज्ञान तथा वातावरण विज्ञानको फराकिलो अध्ययनका साथसाथै भ्रमणको अनुभवले कृतिलाई बेग्लै उचाइ दिएको पाठकहरूको धारणा रहेको यस कृतिलाई बुकहिलले प्रकाशन गरेको हो ।