मकवानपुर, १० साउन ।
शनिबार साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचनावाचन कार्यक्रम आयोजना हुने भएको छ । आँचल साहित्य कला पुञ्ज र साहित्य संगम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको आँचल साहित्यकला पुञ्जकी सचिव सबिता तिमल्सिनाले बताइन् ।
स्व. तिम्सिनाका ‘अभ्यन्तर’ कथासंग्रह र ‘किनाराका आवाजहरू’ कवितासंग्रह प्रकाशित छन् । वि.सं. २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर स्व. तिम्सिनाले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिएकी थिइन् ।
४६ वर्षको छोटो आयु लिएर आएकी उनले महिला लेखकहरूलाई संगठित गर्ने र राष्ट्रियस्तरका लेखकहरूसँग समन्वय, सहकार्य र निरन्तर सम्पर्कमा रहने अभ्यासलाई जोड दिएकोले मकवानपुर मात्रै नभई नेपालका थुप्रै साहित्य सर्जकहरूले बिर्सन नसक्ने नाम बनेको साहित्यकार माया ठकुरीले बताइन् । निवर्तमान अध्यक्ष अनिता न्यौपाने स्व. तिम्सिनाले संस्थालाई केवल संस्थाभन्दा आफ्नो घरका रूपमा माया गर्ने र सदस्यहरूलाई सोहीअनुसार मायाप्रेमले संगठित गर्दै लेखनमा हौसला दिने गरेको सम्झन्छिन् ।
निरन्तर सक्रिय सहभागितामा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको आँचल साहित्य कला पुञ्ज मकवानपुर महिला साहित्य सर्जकहरूद्वारा सञ्चालित संस्था हो ।
हेटौंडाबाट प्रकाशित “अठोट” त्रैमासिक पत्रिकामा स्व. मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराएका थिए । अमेरिकामा रहँदा नै “केही अस्पष्ट रेखाहरु” (२०७४) मा प्रकाशन गराएका मुडवरीको दोस्रो कवितासंग्रह ‘केही अतृप्त स्पर्शहरू’ प्रकाशनको तयारीमा हुँदाहुँदै देहान्त भएको थियो । यसअघि उनले आफ्ना दिवंगत मातापिताको नाममा साहित्य संगम मकवानपुरले व्यवस्थापन गर्ने गरी “सुभद्रादेवी–मदन मुडवरी स्मृति काव्य पुरस्कार” स्थापना गरेका थिए ।
स्वर्गीय स्रष्टाद्वयको स्मृतिमा आँचल साहित्य कला पुञ्ज तथा साहित्य संगम मकवानपुरको संयुक्त आयोजनामा हुने स्मृति विशेष रचनावाचन कार्यक्रम साहित्य संगम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा साउन १२ गते शनिबार आयोजना हुनेछ ।